इटहरी। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ ले आइतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उहाँले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उहाँको भनाइ थियो । यसैगरी उहाँले कांग्रेस र नेकपा ९एमाले९ संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै दुवै दलले एउटा व्यक्ति कतिपटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताउनुभयो ।