इटहरी। तरकारी बालीमा ग्राफ्टिङ् प्रविधि प्रभावकारी बन्दै गएको छ । माटोजन्य रोगका कारण तरकारी खेतीमा माटोबाट सर्ने रोगको समस्या देखिन थालेपछि ग्राफ्टिङ् कलमी प्रविधिको प्रयोग किसानहरुले गर्न थालेका छन् ।  पूर्वी नेपालका अगुवा तरकारी कृषकहरु पछिल्लो समय ग्राफ्टिङ् प्रविधिको प्रयोग गर्दै आएका छन् । माटोबाट सर्ने ढुसी र ब्याक्टेरियाको कारणले लाग्ने रोगहरु तथा जरामा गाठा बनाउने जुकाले तरकारी बालीहरुको उत्पादन, गुणस्तर र भण्डारणमा हानी पुर्‍याउने गरेको छ । ग्राफ्टिङ् प्रविधिको प्रयोगले माटोबाट सर्ने रोगको व्यवस्थापन हुँदै आएको तरकारी कृषक रघु चन्द्रवंशीले बताउनुभयो । माटोलाई निर्मलीकरण, जैविक नियन्त्रण विधि र कलमी प्रविधिसँग समायोजन गरेर व्यवसायिक किसानहरुले पछिल्लो समय तरकारी खेती गर्दै आएका छन् । सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र सोलुखुम्बुलगायत पहाडी जिल्लाका व्यवसायिक किसानहरुले कलमी प्रविधिबाट तरकारी खेतीको सुरुवात गरेको सुनसरीका कृषक अमिर निरौला बताउनुहुन्छ । कोशी प्रदेशकै व्यावसायिक तरकारी किसानहरुले ‘तरकारी बालीमा कलमी प्रविधि’ प्रयोगमा ल्याएका छन् । तरकारी खेतीमा माटो, रोग, किराबाट आइपर्ने समस्याहरु झेल्दै आएका किसानहरुले ग्राफ्टिङ् प्रविधिको प्रयोग गर्दै आएको सुनसरीको वराहक्षेत्र ९ सुन्दर कृषि फर्मका कृषक छविलाल चौधरीले बताउनुभयो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका बाली रोग वैज्ञानिक डा। रामबहादुर खड्काका अनुसार तरकारी बालीमा पछिल्ला केही वर्षदेखि बढ्दो माटोजन्य रोग तरकारी उत्पादक किसानहरूका लागि ठूलो चुनौती बन्दै आएको छ । ग्राफ्टिङ् कलमी प्रविधिले माटोबाट सर्ने ढुसीजन्य रोगको व्यवस्थापन हुँदै आएको उहाँले बताउनुभयो । डाक्टर खड्काका अनुसार तरकारीको कलमी, एउटा जातको जरा र अर्कीको डाँठ अर्थात् काण्ड काटेर जोड्ने विधि ग्राफ्टिङ् कलमी हो । यसरी जोडेपछि उच्च आर्द्रताको बिचमा राख्नुपर्छ । यो विधि सबै तरकारी खेतीमा गर्न सकिँदैन । फल दिने तरकारीहरू, गोलभेँडा, भन्टा, खुर्सानी, भिँडे खुर्सानी र लहरे बालीहरूमा घिरौँला, काँक्रो, करेलामा मात्र गर्न सकिने उहाँले बताउनुभयो । हाल पूर्वी नेपालका किसानहरुले गोलभेँडा, भन्टा र खुर्सानीमा कलमी विधिको काम गरिरहेका छन् । बिरुवाको जरादेखि नै बलियो बनाई, रोग सहन सक्ने विरुवाको विकास गरी उत्पादकत्व बढाउन यो विधि प्रभावकारी बन्दै गएको तरकारी किसानहरु बताउँछन् । तरकारी बालीमा माटोबाट लाग्ने रोग मुख्य चुनौती बन्दै आएको छ । विषादी र अन्य विधिबाट रोग व्यवस्थापन गर्न किसानलाई गाह्रो बनेका बेला रोग सहन सक्ने जरा र गुणस्तरीय फल दिने तरकारीको टुप्पो अर्थात् काण्डलाई जोडेर बिरुवाको नयाँ विकास गरी तरकारी फलाउने गरिन्छ । मुलुकभित्र तरकारी बालीको उत्पादकत्व एवम् गुणस्तर बढाउन नेपाल कृषि अनुसन्धान परिषद्ले उन्नत प्रविधिको विकास तथा प्रवर्धनको उद्देश्यले फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याबअन्तर्गत तरकारीमा लाग्ने माटोजन्य रोगको व्यवस्थापनका बारेमा कृषकहरूको जीविकोपार्जन र खाद्य सुरक्षामा सुधार परियोजनाले काम गर्दै आएको वैज्ञानिक डा। खड्काले बताउनुभयो ।

किसानहरुले जथाभावी विषादीको प्रयोग गर्दा माटोको स्वास्थ्य अवस्था बिग्रिएर गएका बेला कलमी प्रविधिले भने विषादीको प्रयोगलाई कम गर्न मद्दत गर्ने र जरादेखि नै बिरुवालाई बलियो बनाउने हुँदा बिरुवामा रोग कम लाग्ने गरेको छ । डाक्टर खड्काका अनुसार कलमी गर्दा सबैभन्दा पहिले जरा भएको बिरुवाहरू पहिचान गर्नुपर्छ । भन्टा, गोलभेँडा, भिँडे खुर्सानी, खुर्सानीसँग जोड्न मिल्ने जङ्गली प्रजातिको बिरुवा पत्ता लगाउनुपर्छ । तर रोग कम लाग्ने र जोड्न मिल्ने खालको जङ्गली प्रजातिको बिरुवाको पहिचान गर्नु पनि किसानहरुलाई उत्तिकै चुनौतीपूर्ण छ ।  ब्याक्टेरिया, ढुसी र जुकाहरू माटोमै लामो समयसम्म जीवित हुँदा बिरुवामा रोग लाग्ने गरेको छ । विशेष गरी जरा कुहिने, बोट मर्ने रोग लाग्ने गरेको छ । कलमी प्रविधिबाट रोपिएका तरकारीका बिरुवाहरूकोे जरा गहिरोसम्म जाने, धेरै फैलिने र खाद्य तत्व र पानी बिरुवाले बढी लिने हुँदा बिरुवाको वृद्धि विकास छिटो हुने र उत्पादन पनि राम्रो दिने गरेको छ ।