इटहरी । झापाको मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले शर्टमा टाँक लगाउने व्यवसाय सञ्चालन गरी मासिक ७० हजार कमाइ गरिरहनुभएको छ । १० वर्ष मलेसियामा बसेर फर्कनुभएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र नभई स्थानीय बासिन्दालाई रोजगारी पनि दिनुभएको छ । उहाँले तीन वर्षअघि पाँच लाख रुपैयाँको लगानीमा मेचीनगर–१० चाँदनी चोकमा शुरू गर्नुभएको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने शर्ट, कुर्ताहरूको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको खतिवडाले बताउनुभयो । सीप र पूँजी भए मान्छे भोकले नमर्ने तथा आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिने उहाँको भनाइ छ । दीनानाथ खतिवडाले पाँच जनालाई रोजगारी प्रदान गरेको बताउनुभयो । स्थानीय सरकारको सहयोग पाएमा आउँदा दिनमा मेशिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने उहाँको योजना छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण रेमी परियोजनामार्फत खतिवडाको उद्यमलाई प्रवद्र्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिनुभयो । नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा शुरू भएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ ।