इटहरी । मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव(२०८१’ हुने भएको छ । माघी पर्वको अवसरमा सुन्दरहरैँचा ४ मा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा यहीँ माघ १ गतेदेखि ७ गते सम्म माघी महोत्सव हुने भएको हो । सुन्दरहरैँचा वडा नं ४ दुलारी स्थित हवेली टोलमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको परिसरमा साताव्यापी महोत्सव हुने भएको हो । कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि(सभ्यता पहिचान सहितको संस्कार र सस्कृती भन्ने मूल नाराको साथ महोत्सव गर्न लागिएको मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तेज नारायण चौधरीले बताए । महोत्सवमा थारु सांस्कृतिक झाँकी र्याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन तथा दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने संयोजक चौधरीले बताए । महोत्सवमा कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका स्टलहरू, मनोरञ्जनात्मक खेलहरू रहने उनले बताए । थारु सङ्ग्रहालयमा थारु संस्कार र संस्कृति झल्किने सामाग्रीहरू राखिने सङ्ग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले बताए । थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न स्थानीय सरकारको तर्फबाट सक्दो भूमिका खेल्ने सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकलि चौधरीले बताइन् । नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेरावारिको लागि १० लाख रुपैयाँ बजेट छुट्टाएको र सङ्ग्रहालय निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुटाउने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् । उपमेयर चौधरीले महोत्सवमा स्थानीय कला र कलाकारलाई पर्याप्त स्थान र समय दिन आयोजकलाई आग्रह समेत गरिन् । महोत्सवको व्यवस्थापनका लागि करिब ६० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । महोत्सवमा दैनिक ५० लाख देखि १ करोड सम्मको व्यापार हुने साथै दैनिक १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा अपाङ्ग र विद्यालयका विद्यार्थीहरूका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क रहेको समेत आयोजकले जनाएको छ । थारु जातिहरूको संस्कार, संस्कृति, सभ्यता चिनाउने र भावी पीढीहरूका लागि पुरातात्त्विक सम्पदा पहिचान गराउने उद्देश्यका साथ स्थापित थारु सङ्ग्रहालय सुन्दरहरैँचा ४ ले महोत्सवबाट आम्दानी भएको रकमलाई थारु सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण लगायत संस्थागत सामाग्रीहरूको खरिद गर्ने उद्देश्य राखेको आयोजकको भनाई छ ।


