विराटनगर | पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई न्यायसंगत र समावेशी बनाउन माग गर्दै अनेरास्ववियु, ने.वि.संघ, र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा परीक्षा पत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन विज्ञपति बुझाएका छन्। 

बिहीबार पूर्वान्चल विश्वविद्यालय "कलेज अफ ल"का विद्यार्थीहरूको तर्फबाट प्रस्तुत गरिएको यो मागलाई विश्वविद्यालय केन्द्रीय कार्यालय सुन्दरहरैंचाका उपकुलपति प्राध्यापक डा. बिजु कुमार थपलियासमक्ष बुझाइएको हो।

विद्यार्थी संगठनहरूले परीक्षा प्रणाली सबैका लागि सहज र समावेशी बनाउन लामो समयदेखि उठ्दै आएको भाषा सम्बन्धी समस्याको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्। छलफलका क्रममा उपकुलपति थपलियाले विद्यार्थीका हक, अधिकार, र हितको संरक्षणका लागि प्रशासन प्रतिबद्ध रहेको आश्वासन दिएका छन्।

विद्यार्थी संगठनहरूले भने विश्वविद्यालय प्रशासनले मागप्रति सकारात्मक कदम नचाले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।विज्ञप्ती पत्रमा समस्या समाधानका लागि चाँडो निर्णय लिन आग्रह गर्दै, भाषा अवरोधका कारण विद्यार्थीहरूले भोग्नुपरेको अन्याय अन्त्य गर्न माग गरिएको छ।

अनेरास्ववियु पूर्वान्चल विश्वविद्यालय कलेज अफ लका अध्यक्ष प्रकाश खावाहाङ (राई)ले परीक्षा प्रणालीलाई समावेशी बनाउने यो अभियानलाई विद्यार्थीहरूको शिक्षा र भविष्यसँग जोडिएको महत्वपूर्ण मुद्दा भनेका छन्।

विद्यार्थीहरूको माग र संगठनहरूको सक्रियताले विश्वविद्यालय प्रशासनलाई समस्या समाधानका लागि दवाव सिर्जना गरेको छ। यसले समावेशी शिक्षा प्रणालीतर्फ एक कदम अघि बढ्न मद्दत गर्ने अपेक्षा गरिएको छ।IMG-20250110-WA0002