भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम भ्रमण वर्ष २०२५ को अवसरमा सांस्कृतिक, पर्यटन तथा कृषि मेला आयोजना गर्ने भएको छ। मेला यहि माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। नेपाल सरकारले उत्कृष्ट १०० गन्तव्यहरूको सूचीमा समावेश गरेको यस क्षेत्रमा पर्यटकीय गतिविधिलाई थप प्रोत्साहन गर्न र कृषि तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो।
मेलाको पहिलो दुई दिन, माघ १ र २ गते, विशेष कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना हुनेछ। यस कार्यक्रमले कृषकहरूको आय आर्जन वृद्धि गर्न, व्यावसायिक खेतीतर्फ आकर्षित गर्न, र कृषि पेशालाई सम्मानित गर्न योगदान दिने लक्ष्य राखेको गाउँपलािका अध्यक्ष सरोज बस्नेत जानकारी दिनु भयो ।
मेलामा स्थानीय कृषकहरूले उत्पादन गरेका विभिन्न फलफूल र तरकारीहरू प्रदर्शन र प्रतिस्पर्धाका लागि राख्न सक्नेछन्। सुन्तला, किवी, एभोकाडोजस्ता फलफूलहरू तथा मुला, फुलकोभी, रायो साग, र तरुलजस्ता तरकारी बालीहरू प्रदर्शनका लागि छुट्टाइएको छ। उत्कृष्ट उपज उत्पादन गर्ने कृषकहरूलाई नगद पुरस्कारसहित आकर्षक उपहार प्रदान गरिने जानकारी आयोजकले गराएको छ।
कृषि उपजहरू दर्ता गराउने अन्तिम मिति यहीँ पुस २९ गते बेलुका ५ बजे सम्म तोकिएको छ। प्रदर्शनीको मुख्य स्थल टेम्केमैयुङ गाउँपालिका वडा नं. ४, चखेवा, नागी हुनेछ ।
गाउँपालिकाले सम्पूर्ण कृषक, कृषि फर्म, सहकारी र समूहहरूलाई मेलामा सहभागी भई आफ्ना उत्पादनहरू प्रदर्शन गर्न अनुरोध गरेको छ। प्रदर्शनमा राखिने उपजहरू राम्रो अवस्थामै ल्याउन विशेष ध्यान दिन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिकेन पौडेलले बताउनुभयो ।
यस मेलाले टेम्केमैयुङको कृषि, पर्यटन, र सांस्कृतिक विकासमा योगदान पुर्याउँदै, यस क्षेत्रको पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।


