सुनसरी / नेकपा एमाले जिल्ला कमिटी सुनसरी अन्तर्गत प्रचार प्रसार तथा प्रकाशन विभागले जिल्लाका सबै पालिकाका पार्टी अध्यक्ष, सचिव र प्रचार विभाग प्रमुखहरुसँग बैठक बसी अन्तर्कृया सम्पन्न गरेको छ । 

जिल्ला प्रचार विभाग सचिव विकल पौडेलको अध्यक्षतामा बसेको बैठकमा पालिका कमिटीहरुमा भइरहेका पार्टी प्रचार गतिविधि र भावी कार्ययोजनाबारे बैठकमा प्रतिनिधिहरुले रिपोर्टिङ गरेका थिए । 

पार्टीको नेतृत्वमा भए गरेका नीति तथा कार्यक्रम, विकास निर्माण र पहलकदमीका बारेमा आम सञ्चार र सामाजिक सन्जालमार्फत व्यापक प्रचार प्रसार गरिनु पर्ने अन्तर्कृयमा साझा धारणा राखिएको थियो । 

स्थानीय तहका पार्टी कमिटी मातहतका प्रचार विभागले वडागत प्रोफाइल, आर्थिक, सामाजिक र राजनीतिक तथ्याङ्कमा काम गर्नु पर्ने बैठकमा बताइएको थियो । 

डिजिटल मिडिया र सामाजिक सन्जाल साक्षारत सम्बन्धी तालिम प्रशिक्षणको आयोजना गर्नु पर्ने अधिकांश पार्टी कमिटीका प्रतिनिधिहरुले आवश्यकता औंल्याएका थिए । 

एमाले सुनसरीका कार्यवाहक अध्यक्ष परशुराम यादवले डिजिटल युगमा डिजिटल नेकपा एमाले निर्माण गर्ने अवधारणा अनुसार गतिविधि बढाउन प्रचार विभागलाई निर्देशन दिए । 

'वडा तहका पार्टी कमिटीका गतिविधि केन्द्रसम्म पुग्नु पर्छ, केन्द्रका गतिविधि वडासम्म पुग्नु पर्छ,' कार्यवाहक अध्यक्ष यादवले भने,'प्रचार विभागले पार्टीप्रति आकर्षण बढ्ने हिसाबले काम गर्न आवश्यक छ ।' 

पार्टी सचिव राम कोइरालाले प्रत्येक नगर कमिटीले टोलदेखि वडासम्मका पार्टी गतिविधि प्रचार विभाग प्रमुख र पार्टी कार्यालयलाई उपलब्ध गराउनु पर्ने बताए । 

कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, जिल्ला कार्यवाहक अध्यक्ष परशुराम यादव, पार्टी सचिव कोइराला, स्कुल विभाग प्रमुख इन्द्रकला राई, स्कुल विभाग प्रमुख उपप्रमुख बालकृष्ण कार्की , पार्टी जिल्ला कमिटी सदस्यलगायत विभिन्न पालिका अध्यक्ष सचिव र प्रचार विभाग प्रमुखहरुको उपस्थितिमा बैठक आयोजना गरिएको थियो । बैठकमा प्रचार विभाग सचिव विकल पौडेलले राखेका एजेण्डालाई सुझावसहित पारित गरिएको थियो ।