काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायीक हिरासतमा पठाइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा बयान सकिए पनि थुनछेक बहस नसकेपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो । सोमबार देखि थुनछेक बहस हुने काठमाडौं अदालते जनाएको छ । त्यसअघि आइतबार बिहानै लामिछाने अदालत हाजिर हुनुभएको थियो । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकम सहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो माग दावी गरेको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा हुनुभएको थियो ।


