इटहरी । माघेसंक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघेसंक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो । धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्ने कौशीका धाममा पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ । यस्तै त्रिवेणीमा नुहाएर हंस मोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाक्षा पुरा हुने विश्वास रहेको स्थानीयको भनाइ छ । यस्तै धनकुटाको भीरगाउँमा रहेको मधुगंगा र बाघेखोलामा रहेको धर्मगंगामा मकर नुहाउन बिहानै देखि भक्तजनको घुइचो लागेको हो । यी ठाउँमा मकर नुहाउँदा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । यस्तै मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । हिन्दु धर्ममा विश्वास राख्नेहरुको बिहानै देखि मधुगंगामा भीड लागेको स्थानीय राजेन्द्र गुरागाइले जानकारी दिनुभयो । मधुगंगा धाम धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । मधुगंगामा माघे संक्रान्ति सगै मंसिर पूणिमा, साउन महिना र स्वस्थानी ब्रत सुरु तथा समापन लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ ।


