इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन् । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुले तय गरेका प्राथमिकता र लक्ष्यलाई आधारमा अगाडि बढ्ने बताएका हुन् । भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतकोजस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि सबैले सार्थक प्रयत्न र संकल्प गर्नुपर्ने जरूरी रहेको उनले बताए । भूकम्प सुरक्षा दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै व्यक्ति, संघसंस्था, निकाय, समुदायलगायत सबैमा आपसी सहयोग, भाइचारा र सहकार्यका साथ विपद्को सामना र क्षति न्यूनिकरणका लागि जनचेतना जगाउन प्रभावकारी रुपमा काम गर्नसमेत उनले आग्रह गरे । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ मनाइँदै छ ।