इटहरी ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले सुरु गरेको निकै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं ६ नेर्पामा रु १२ लाख तथा  वडा नं १४ बुइपामा रु पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किइरहेका छन् । बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब एक सय जना कामदार खटिएका छन् । अहिले हुर्कँदै गरेका बिरुवा अबको वर्ष दिनपछि किसानलाई विरतण गरिने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताउनुभयो । उत्पादित कफीको बिरुवामा किसानको पनि अपनत्व हुनेगरी थोरै शुल्कमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बेलायती कम्पनीले निःशुल्क बीउ उपलब्ध गराए पनि नर्सरी भने नगरपालिकाको लगानीमा स्थापना गरिएको जनाइएको छ । जग्गा, पाइप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिकलगायत व्यवस्थापन गरेर अहिलेसम्म रु २० लाख खर्च भइसकेको छ । नर्सरीमा उमारिएका कफीका बेर्ना १५ देखि १८ महिना पुगेपछि किसानलाई बाँड्ने तयारी गरिएको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । कफी प्रवर्द्धन कार्यक्रमका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त रकमले कफीका बिरुवा खरिद गरेर किसानलाई निःशुल्क प्रदान गर्न तयारी गरिएको जनाइएको छ । आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर नर्सरी नै स्थापना गरिएको नगरपालिकाले जनाएको छ । खरिद गरिएको बिरुवाभन्दा आफँैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि नर्सरी स्थापना गरिएको जनाइएको छ । कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आकलन गरिएको उपप्रमुख विशन राईले बताउनुभयो । समुद्री सतहबाट आठ सयदेखि एक हजार छ सय मिटरको उचाइमा कफीखेती उपयुक्त मानिन्छ । यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पा चिउरीडाँडा र निर्मलीडाँडामा कफीखेतीको राम्रो सम्भावना देखिएको छ । कफीको व्यावसायिक खेती प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष कफी प्रशोधन केन्द्रसमेत स्थापना गर्नेगरी अध्ययन भइरहेको उपप्रमुख राईले जानकारी दिनुभयो । नगरपालिकाले गरेको अध्ययनअनुसार, नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख बिरुवा लगाउने सकिने क्षेत्र छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा केही वर्षअघिदेखि कफीखेती हुँदै आएको छ ।