इटहरी । इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुगेको छ। कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जाकारी दिए। उनका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन्। ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १० का विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै आइएको नगरप्रमुख राईले बताए। कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक तथा विद्यार्थीले प्रतिक्रिया दिएका छन्। सूर्योदय–१० स्थित फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा विन्दा ढुङ्गेलले पहिले निकै गाह्रो लाग्ने गणित विषय आजभोलि सजिलो लाग्न थालेको बताइन्। उनी मात्रै होइन सूर्योदयका अधिकांश विद्यार्थी गणित सजिलो लाग्न थोलेको बताउँछन्। बाह्र महिना १२ कार्यक्रमअन्तर्गतका सबै कार्यक्रम प्रभावकारी भइरहेका शिक्षक बताउँछन्। परीक्षाको नतिजामा गणित विषय कमजोर देखिएपछि सुधार गर्न सुरु गरिएको अभियान प्रभावकारी बन्दै गएको नगरप्रमुख राईले बताए। विद्यार्थीलाई कापी बाँड्न नगरप्रमुख राई जानरी बिना विद्यालय पुग्छन्। “बेखबर जाँदा अनुगमन र विद्यार्थीसँग अन्तक्र्रिया पनि हुन्छ”, उनले भने। नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ। नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ। पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना, १२ कार्यक्रम’ सञ्चालन गरिरहेको हो। यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरप्रमुख राईले बताए। यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी रहेको उनले उल्लेख गरे। सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ। यहाँबाट उत्पादन भएका जनशक्तिलाई नगरले कम्तीमा एक सय दिन रोजगारी दिइरहेको छ। नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड निःशुल्क दिएको नगर प्याब्सनका अध्यक्ष लाकेल लामाले बताए। नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दा विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको छ। सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कूलमा पढ्न जाने विद्यार्थीलाई यतै आकर्षित गर्न सहज र सुन्दर वातावरणको व्यवस्था गरिएको नगरको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताए। नगरपालिकामा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालयमा गरी ११ हजार छ सय १२ विद्यार्थी छन्। शिक्षा शाखा प्रमुख भट्टराईका अनुसार नगरमा तीन सय ९८ शिक्षक दरबन्दीमा छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन्। यीबाहेक विद्यालयले निजी स्रोतबाट समेत शिक्षक राखेको छ। सूर्योदय नगरपालिका जिल्लाको पहिलो, कोशी प्रदेशको तेस्रो र मुलुकको दशौँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका पनि हो।


