कहिलेकाहीं दाँत दुख्नु साधारण समस्या हो तर कुनै बेला यसको दुखाइ असह्य हुन्छ । दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिने गर्छ । साधारणतया अत्यधिक तातो, चिसो तथा दाँतमा टाँसिने खानेकुरा खाँदा, दाँत नमाझ्दा, ब्याक्टेरियल संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । कहिलेकाहीं दाँत दुख्दा अस्पताल पुगिहाल्ने अवस्था पनि सम्भव नहुन सक्छ । यस्तोमा केही घरेलु उपाय अपनाएर दाँत दुखाइबाट आराम पाउन सकिन्छ ।
नुनपानीले कुल्ला गर्ने
मुखमा हुने हानिकारक ब्याक्टेरिया हटाउन मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्न सकिन्छ । यसले मौखिक स्वच्छता कायम राख्छ र दाँत दुखाइको प्राथमिक उपचारको रूपमा पनि काम गर्छ। यसबाट दाँतमा अड्केको केही फोहोर पनि हटाउन सकिन्छ ।जसकारण गिजा सुन्निने समस्या कम हुन्छ र दुखाइ कम हुन्छ ।
फिट्किरी
एन्टी–ब्याक्टेरियल र एन्टी–माइक्रोबियल गुणले भरिपूर्ण फिट्किरीलाई पिसेर दुखेको ठाउँमा लगाएर १० देखि १५ मिनेटसम्म छोड्ने र त्यसपछि कुल्ला गर्नुपर्छ । साथै मनतातो पानीमा फिट्किरीको धुलो मिसाएर कुल्ला गर्दा पनि दाँतमा हुने ब्याक्टेरिया र दुखाइ कम हुनसक्छ ।
ल्वाङको तेल
ल्वाङको तेल एन्टी–इन्फ्लेमेटरी गुणले भरिपूर्ण हुन्छ, जसले दाँत दुखाइबाट छिट्टै आराम दिन्छ । यसका लागि कपासमा ल्वाङको तेल लिएर दाँतको बीचमा, गिजामा नलाग्ने गरी राख्नुपर्छ । त्यसपछि केही समयका लागि आफ्नो मुख बन्द राख्नुपर्छ र आफ्नो टाउकोलाई अग्लो स्थानमा राखेर आराम गर्नुपर्छ, जसकारण दुखाइ कम हुन थाल्छ । यसले दाँतको संवेदनशीलता पनि कम हुन्छ ।
पुदिनाको रस
पुदिनामा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ । पुदिनाले दुखाइ र सुन्निने समस्या कम गर्न मद्दत गर्छ । यसलाई तातो पानीमा भिजाएर त्यसबाट रस निकाल्ने र अब यसलाई प्रभावित दाँतमा लगाउन सकिन्छ । यसले दुखाइ कम गर्न मद्दत गर्छ ।
हिङ र कागतीको रस
सासको दुर्गन्ध, दाँत पहेंलो हुने समस्या वा दुखाइ सबैमा कागतीको रसको प्रयोग प्रभावकारी साबित हुन्छ । आधा चम्चा कागतीको रसमा एक चिम्टी हिङ मिसाएर लगाउनाले दाँतको जरा बलियो हुन्छ र केही मात्रामा दुखाइ पनि कम हुन्छ ।
अम्बाको पात
अम्बाको पातले मुखको स्वच्छता कायम राख्न मद्दत गर्छ । साथै अम्बाको पातलाई पानीमा उमालेर कुल्ला गर्नाले पनि दाँतको दुखाइ कम हुन्छ । एन्टी-ब्याक्टेरियल गुणले भरिपूर्ण यी पात चपाउँदा दाँतको स्वास्थ्य पनि कायम रहन्छ ।
घिउकुमारी जेल
घिउकुमारी जेलको प्रयोग गिजा सुन्निएको समस्यामा प्रभावकारी हुन्छ । प्रभावित दाँतमा घिउकुमारी जेललाई लगाउन सकिन्छ । यसले गिजा सुन्निने समस्यालाई कम गर्छ र दुखाइबाट पनि राहत दिन्छ ।
मरिच
धेरै तातो र धेरै चिसो खानेकुरा खाएपछि दुखेको दाँतलाई ठीक पार्न कालो मरिचले सहयोग गर्छ । यसका लागि कालो मरिच पाउडर र नुनलाई बराबर मात्रामा मिलाउने । अब यसमा केही थोपा पानी हालेर यसको पेस्ट बनाउन सकिन्छ । यो पेस्टलाई दुखेको ठाउँमा लगाएर केहीबेरका लागि छोडिदिनुपर्छ । यसले दाँत दुखाइमा तत्काल राहत दिन सक्छ ।
ध्यान दिनुपर्ने कुरा
दाँत दुखाइ कम गर्ने यी घरेलु उपाय गाउँघरमा पहिलेदेखि नै चलिआएका हुन् । दाँत दुखाइमा तत्काल राहत पाउन यी उपाय उपयोगी भए पनि यो दीर्घकालीन समाधान भने होइन । त्यसैले दाँतको दुखाइबाट दीर्घकालीन रुपमा राहत पाउन समयमै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।
डा. विपना तामाङ
दन्त चिकित्सक