इटहरी। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका चार टोलले सामाजिक र आर्थिक कारण देखाउँदै आयातित पेय पदार्थको सेवनमा पूर्ण प्रतिबन्ध लगाएका छन् । गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका बासिन्दाले विवाह, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया लगायत सबै सामाजिक कार्यक्रममा यस्ता पेय पदार्थको प्रयोगमा रोक लगाएका हुन् । स्थानीय सामाजिक अभियन्ता अरुण राईका अनुसार आयातित पेय पदार्थले आर्थिक बोझ बढाउनुका साथै परम्परागत संस्कृति र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ । “एउटा घरमा प्रयोग भएपछि अरूले पनि प्रयोग गर्नैपर्ने बाध्यता थियो । यसले आर्थिक भार बढाउने मात्र होइन, स्वास्थ्य र संस्कृतिमा समेत असर पाथ्र्यो,“ राईले भने । गैरी फुलेलीमा गत असोज २९ गतेको एक विवाह कार्यक्रमदेखि यो निर्णय कार्यान्वयनमा आएको हो । २८ घरधुरी रहेको यस टोलमा स्थानीय फुलेली सेवा समाजको पहलमा असोज १६ गते भएको भेलाले यो निर्णय गरेको थियो । कुसुङ्खा टोलले भने गत वर्षदेखि नै यस्तो प्रतिबन्ध लागू गरिसकेको छ । वडाध्यक्ष दिनेश राईले स्थानीयको यो पहललाई वडा कार्यालयले पूर्ण समर्थन गरेको बताए । प्रतिबन्धित क्षेत्रमा अब परम्परागत पेय पदार्थ जस्तै स्थानीय जाँड, रक्सी र चियाको प्रयोग गरिने स्थानीयवासीले बताएका छन् । यसअघि विभिन्न ब्राण्डका सोडा, जुस, बियर तथा रम जस्ता आयातित पेय पदार्थको प्रयोगले आयोजकलाई ठूलो आर्थिक भार पर्ने गरेको थियो । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामाजिक कार्यक्रममा आयातित पेय पदार्थको प्रयोग बढ्दो छ । यसैबीच, जिल्लामा आयातित पेय पदार्थको गुणस्तरमाथि पनि प्रश्न उठ्ने गरेको छ । विभिन्न अनुगमनमा फेला परेका गुणस्तरहीन पेय पदार्थ नष्ट गरिए पनि बिक्रेतामाथि भने कारबाही भएको छैन ।