इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक अवस्था अति नै कमजोर भएका क्षयरोगीहरुलाई पोषण खाद्यान्न सामग्री वितरण गरेको छ । गत कार्तिक १ गतेदेखि २९ गतेसम्म स्वास्थ्य केन्द्र र चौकीहरूबाट रोग पत्ता लागी हाल क्षयरोग निवारणका लागि नियमित औषधि सेवन गरिरहेका रोगीहरूलाई पोषण खाद्यान्न सामग्री सहयोग गरिएको हो । बि.एन.एम. टी. युके र सावित्री बस्न्यात फण्ड फर टि.बी. को आर्थिक सहयोगमा बि. एन.एम.टी. नेपाल द्वारा सञ्चालित ’पोषण परियोजना’ अन्तर्गत ९ जना क्षयरोगीहरूलाई पोषण खाद्यान्न सहयोग वितरण गरिएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा क्षयरोग संयोजक डा. मुकेश पौडेलले जानकारी दिनुभयो । उहाँले नगरभित्रका विभिन्न वडामा बसोबास गर्नुहुने क्षयरोग बिमारीहरूलाई पोषण खाद्यान्न अन्तर्गत चामल, नुन, अण्डा, सब्जी लगायतका पोषणयुक्त खाद्यान्न सामग्रीहरू प्रदान गरिएको जनाउनुभयो ।  पछिल्लो तथ्याङ्क अनुसार नगरभित्र एक वर्षको अवधिमा १ सय बढी क्षयरोगीको संख्या रहेको छ भने अहिले १३ जना नियमित औषधि सेवन गर्ने अति विपन्न वर्गका रोगीहरू छन् ।