इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र मेहता र प्रशासन प्रमुख संजिव खड्कालाई कारबाही गर्न सिफारिस भएको छ । बिहीबार उपमेयर सङ्गिता चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठक पछि कारबाहीको सिफारिस गरिएको हो । कार्यपालिका सदस्य तथा वडा नम्बर(९ का अध्यक्ष जितेन्द्र थापाका अनुसार कार्यालयको हित विपरीत गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरिएको हो । कार्यपालिका बैठकमा माइन्युट लुकाएको लगायत कारण देखाउँदै कारबाही गर्न लागिएको उनले बताए । मेयर हेमकर्ण पौडेल भारत भ्रमणमा रहेको समयमा उपमेयरले कार्यपालिका बैठक बोलाएकी हुन् । उपमेयरले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कारबाही गर्न अनुरोध गर्दै सिफारिस गरेकी छन् । मेयरले अध्यक्षता गर्ने बैठक उपमेयरले अध्यक्षता गर्नु र छोटो समयको कार्यवाहकको उपयोग गर्दै बैठकको वैधानिकता बारे प्रश्न उठेको छ ।

