इटहरी। नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिनुहुँदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । शनिबार बिहान रङ्गशालाको अनुगमन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवम् शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिनुभयो । आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नभएर सबै प्रदेशका रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिनुहुँदै अध्यक्ष प्रचण्डले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।


