इटहरी। नवीनतम प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्साहित भएका हुन् । ‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन स्थानमा मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०–१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनीको रूपमा मकैखेती गरिरहेको छ । प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिङ्कलगायत मलखाद उपलब्ध गराइएको कार्यालयका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रूपमा शून्य खनजोत प्रविधिबाट मकैखेतीको प्रदर्शनी खेती गरेको हो । यो प्रविधिको प्रयोगबाट किसानको उत्पादन लागत घट्नेछ भने नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुनेछ । धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकैपटक मकैको बीउ र मल हालेर मकै रोपिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।


