इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक साता सम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिनुभयो । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुईटेलले जानकारी दिनुभयो । बिगतका बर्षहरुमा हिसान सुनसरीमा आबद्ध शिक्षालयका बिद्यार्थीहरुको मात्र सहभागीता सुनिश्चित गरिएको हिसान रनमा यसपटक पब्लिक क्याटगोरी अन्तर्गत जो कोहीलाई खुला गरिएको संयोजक लुईटेलले जानकारी दिनुभयो । स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा हुनेछ भने क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा सञ्चालन गरिने बताइएको छ । भलिबल पूर्वाञ्चल माबि तरहरा इटहरीमा, बास्केटबल धरान स्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रंगशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ । उक्त प्रतियोगिताहरु सम्पन्न गर्न सम्बन्धित खेलको जिल्ला संघहरुलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ । बक्तृत्वकला, कबिता प्रतियोगिता, बुद्धिचाल, टेबलटेनिस, ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोतिा भने केही दिनअघि सम्पन्न भैसकेको संयोजक लुईटेलले जानकारी दिनुभयो । माघ १९ गते धरान आदर्श सेकेण्डरी स्कुलमा नृत्य प्रतियोगिता गर्दै स्पोर्टस मिट समापन गरिने अध्यक्ष भटराईले बताउनुभयो । सुनसरी जिल्लाभरीका ८ सय बिद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १५ हजार भन्दा बढी बिद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैया खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।


