काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताउनुभयो । उहाँले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने जानकारी दिनुभयो । जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिट्टै टेण्डर आह्वान हुने बताउनुभयो । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध रहेको उहाँको भनाइ छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले स्थानीय सरकारले केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने नहुने बताउनुभयो । उहाँले एकले अर्कोलाई छेकेर देश चल्न नसक्ने औंल्याउनुभयो । पानीको दुःख शहरदेखि गाउँसम्मै रहेकाले यसको दीर्घकालीन समाधान हुनुपर्ने बताउनुभयो । प्रमुख साम्पाङले धरानमा पानी तीन करोड लिटर दैनिक खपत हुने बताउनुभयो ।


