इटहरी  । किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो । राई नेशनल किक बक्सिङ एसोसिएसन मार्फत सिङ्गो नेपलको प्रतिनिधित्व गर्दै फोर्थ वाको इण्डीया खुला अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा सहभागी हुन लाग्नुभएको छ । प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च राई आफैँले व्यहोर्नु पर्ने भएको छ । खेलमा सहभागी हुन एक लाख खर्च लाग्ने एसोसिएसनले जनाएको छ । काठमाडौं–दिल्ली–काठमाडौं हवाई टिकट ३० हजार, छ दिनको खाना र बसोबासको ६० हजार साथै प्रवेश शुल्क दश हजार गरी एक लाख खर्च लाग्ने छ । एसोसिएसनले सुनकोशी गाउँपालिकालाई पत्र पठाएर राईलाई आर्थिक सहयोग गर्न भनेको छ । गाउँपालिकाले राईलाई पर्याप्त आर्थिक सहयोग नगर्ने भएको छ । पालिका मार्फत ३० हजार आर्थिक गरिने सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । राईलाई प्रतियोगितामा सहभागी गराउन वडा कार्यालयले आर्थिक सङ्कलन अभियान थालेको छ । राई किक बक्सिङका अब्बल एवम् पदक दावेदार खेलाडी भएकाले आर्थिक सहयोगका लागि आह्वान गरिएको वडा अध्यक्ष टायान्द्र राईले बताउनुभयो । प्रतियोगिता भारतको नयाँ दिल्लीमा हुने बताइएको छ ।

Sun4