इटहरी । इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्गमा वैशाख लागेपछि यातायात बन्द हुुने चिन्ता आमनागरिकमा बढेको छ । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको सडकखण्डमा समान्य वर्षा हुनासाथ यातायात बन्द हुने अवस्थाले चिन्ता बढाएको हो । अहिले दैनिक जसो इलाम सदरमुुकाममा हुने सभा, सम्मेलन र स्थानीय सरकारका विषयगत समितिमा मेची राजमार्गका विषयमा आवाज उठ्ने गरेको छ । इलाम नगरपालिकाले पनि पत्रकार भेटघाट गरी राजमार्गको बिग्रिएको खण्ड र वैकल्पिक मार्गका विषयमा छलफल गरेको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले आउँदो वैशाखदेखि मेची राजमार्ग बन्द हुने निश्चित भएको बताउनुभयो । दुवै वैकल्पिक सडकबाट यातायात सञ्चालन हुने व्यवस्था नगरे ठुलो चुनौती आउने थापा बताउनुहुन्छ । वैकल्पिक भनिएका सिमल गोलाई–तिल्केनी सडकबिचमा पर्ने जोगमाईखोलामा पुलको आवश्यकता छ । यो स्थानमा अहिले पुवाखोलामा कामविहीन भएको बेलिब्रिज राख्ने गरी विभागमा योजना पेस गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । यस्तै इलाम नगरपालिका बेलासे हुुँदै झापा जोड्ने फास्ट ट्र्याकमा पनि पुवाखोलामा पुलको अभाव रहेको जनाइएको छ । यी दुुई खोलामा पुल नहुने हो भने वैकल्पिक मार्गबाट समेत वर्षायाममा यातायात सञ्चालन हुन नसक्ने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाल बताउनुुहुन्छ । वैकल्पिक सडकको माग गर्दै इलाममा नागरिकस्तरबाट पनि दबाब सिर्जना भइरहेको छ । मेची राजमार्गको बिग्रिएको खण्ड भने जमिन भित्रभित्रै पानी बग्ने भएकाले मर्मत कार्य निकै जटिल भएको विभिन्न अध्ययनले जनाउँदै आएका छन् ।


