इटहरी | नेपाल सुटिङबल संघले माघ १७, १८ र १९ गते इटहरी उपमहानगरपालिकामा एशियन सुटिङबल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ। गत वर्ष सन् २०२४ मा सुटिङबल वर्ल्ड कपमा नेपालको महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै लेखी स्थान हासिल गरेकोमा सम्मानस्वरूप एशियन सुटिङबल फेडरेसनले यो प्रतिष्ठित प्रतियोगिता नेपाललाई आयोजना गर्न दिएको हो।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र यूएईका महिला तथा पुरुष टोलीको सहभागिता रहनेछ। आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा 'ए' र 'बी' गरी चार टोलीलाई प्रतिनिधित्व गराउनेछ। प्रतियोगिता इटहरीको कस्तूरी एकेडेमीको खेल मैदानमा हुनेछ।
यस च्याम्पियनसिपको उद्घाटन माघ १८ गते पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालले गर्नेछन्। प्रतियोगिताको स्वागत तथा झण्डोत्तोलन कार्यक्रम माघ १७ गते साँझ इटहरी नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा हुनेछ। समापन तथा पुरस्कार वितरण भने माघ १९ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने एशियन सुटिङ वल फेडरेसनका अध्यक्ष केशवकुमार विष्टले बताउनुभयो ।
मुख्य कार्यक्रमहरू माघ १७ गते साँझ स्वागत तथा झण्डोत्तोलन कार्यक्रम, माघ १८ गते प्रतियोगिताको औपचारिक उद्घाटनर माघ १९ गते: दिउँसो ३ बजे समापन तथा पुरस्कार वितरण गरिने भएको छ ।
पाँच देशका झण्डै दुई सय खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, ओलम्पियनहरू र अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहनेछ। खेलकुदसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने एशियन सुटिङ वल फेडरेसनका महासचिव जिचेन्द्र तोमारले बताउनुभयो ।
नेपाल सुटिङबल संघका महासचिव विन्द्र तोमारले यो च्याम्पियनसिपलाई कोशी प्रदेश, सुनसरी जिल्ला र इटहरीको खेलकुद विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन्। साथै, प्रतियोगिताको सफलताका लागि प्रचारप्रसार र लोकप्रियता अभिवृद्धिमा सबै पक्षले सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
यो च्याम्पियनसिप नेपालमा खेलकुद क्षेत्रको विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।


