सुनसरी | सुनसरीको दुहवी नगरपालिका वडा नं. ८, सुनापुरको रानी गाउँमा राष्ट्रिय कबीर धर्म परिषद नेपालले माघ ११ र १२ गतेको दिन दुईदिने भव्य "संत सम्मेलन" सुरु भएको छ । सम्मेलनको उद्देश्य कबीर धर्मको राष्ट्रिय पहिचान स्थापना गर्ने, धर्मावलम्बीहरूबीच एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउने, र समाजमा शान्ति तथा सद्भावको सन्देश फैलाउने रहेको थियो।
कार्यक्रममा राष्ट्रिय अध्यक्ष महन्थ आलोक साहेव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले कबीर साहेबका आदर्शहरूलाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
कार्यक्रमको अध्यक्षता महन्थ जेबल साहेवले गरेका थिए। उनले सम्मेलनमा कबीर साहेबका शिक्षाहरू, सत्य र अहिंसाको मार्गदर्शन, र समाजमा अन्धविश्वासको उन्मूलनबारे प्रकाश पारे। उनले भने, "कबीर धर्म सबैलाई समान दृष्टिले हेर्ने धर्म हो। यसले न कसैसँग दुश्मनी राख्छ, न कसैको पक्षपात गर्छ।"
दुई दिनसम्म चलेको यो सम्मेलनमा धर्मगुरुहरू, कबीरपन्थी अनुयायीहरू, र अन्य विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा कबीरपन्थको महत्व, आदर्शहरू, र आजको समाजमा यसको प्रभावबारे विभिन्न प्रवचनहरू प्रस्तुत गरियो।
आत्यात्मिक धर्म पनि नेपाली समाजमा आवश्यक रहेको पूर्वमन्त्री एवं संघीय सांसद भगवती चौधरीले बताउनुभयो । यस संस्थाका लागि संघिय सरकारबाट आफुले सक्ने सहयोग गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा विभिन्न जिल्ला कार्यसमितिका सदस्यहरूले पनि आफ्ना विचार राखेका थिए। सहभागीहरूले समाज सुधारका लागि कबीर धर्मले पुर्याएको योगदानको चर्चा गर्दै भविष्यमा धर्मको पहिचानलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।
सम्मेलनको समापन कबीर साहेबका प्रसिद्ध वचन, "सबकी मांगे खैर, न काहु से दोस्ती, न काहु से बैर" को उच्चारणसहित भयो। यो सम्मेलनले कबीर धर्मावलम्बीहरूलाई एकताबद्ध गराउँदै धार्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


