इटहरी / व्यक्तिगत स्वभावमा नम्र देखिने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीको शुक्रबार आक्रोशित भिडियो सार्वजनिक भयो । उपमहानगरको प्रशासन शाखा प्रमुख संजिव खड्कामाथि उपप्रमुख चौधरीले आक्रामक ढङ्गले प्रस्तुत भएकी थिइन् ।
शान्त स्वभावमा देखिने उपप्रमुख चौधरी आक्रामक रूपमा उत्रिएको कारण भने उपमहानगरभित्रका वडा कार्यालयहरूको नियमित काम-कारबाहीको सर्भर बन्द गरेको विषय थियो । एमालेले जितेका वडाका वडा कार्यालयहरूमा 'सर्भर डाउन' गरिदिएको भन्दै उपप्रमुख चौधरीसहितका वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख खड्कामाथि आक्रामक बनेका हुन् ।
एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडा कार्यालयहरूको सर्भर बन्द गरेको भन्दै उपप्रमुख चौधरीलगायतको टोलीले प्रशासन शाखामा तालासमेत लगाए । आफूहरूलाई कुनै जानकारी नदिई वडा कार्यालयको सर्भर बन्द गरेर जनतालाई दु:ख दिएको भन्दै चौधरीसहितको टोली प्रशासन शाखाका प्रमुख कर्मचारीमाथि खनिएको थियो । केही दिनअघि कार्यालयको 'आन्तरिक' सरुवा गरिएका कर्मचारीहरूलाई दबाब दिने मनसायले प्रशासन शाखा प्रमुखले सर्भर डाउन गर्न लगाएको आरोप उपप्रमुख चौधरीले लगाएकी छिन् । कर्मचारीहरूलाई बद्नियतपूर्ण तरिकाले सरुवा गरेको र पत्रअनुसार वडामा हाजिर नभएका कर्मचारीहरूले चलाउने आइडी पासवर्ड डिएक्टिभ गरिदिएको आरोप उनको थियो ।
'कर्मचारी सरुवा आफैँमा बदनियत तरिकाले गरिएको छ । सरुवा त भयो । तर, सरुवाको बहानामा जनताको काम रोकिने गरी सर्भर बन्द गर्न पाइन्छ र ?,' उपप्रमुख चौधरीले शिलापत्रसँग भनिन् । २० मध्ये इटहरीका १५ वडामा एमालेले वडाध्यक्ष जितेको छ । एमालेले जितेका वडाहरूमा मात्र सरुवा गरिएको र जनताको काम रोकिने गरी सर्भर डाउन गरेर खड्काले कर्मचारीलाई दबाब दिएको भन्दै उपमेयर चौधरी रिसाएकी थिइन् । चौधरीले प्रशासन प्रमुख रहेका खड्कालाई गाली गर्दै कसको निर्देशनमा चल्दै हुनुहुन्छ भनेर प्रश्नसमेत गरेकी थिइन् । ’यहाँबाट निस्किहाल्नुस्, तपाईंको काम छैन, कर्मचारी भएर कांग्रेसको राजनीति गर्नुहुन्छ ?,’ उपमेयर चौधरी आक्रोशित देखिएको भिडियोमा भनेकी छिन्, ’एमालेबाट निर्वाचित वडाहरूलाई मात्र किन चलाएको ? तपाईंको प्राइभेट कम्पनी हो ?’
पछिल्लो समय कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले मेयर हेमकर्ण पौडेलको 'कर्मचारी थप्ने' प्रस्तावलाई अस्वीकार गरेका थिए । त्यसैलाई काउन्टर दिन पौडेलकै निर्देशनमा वडा कार्यालयका कर्मचारीहरूलाई बदनियतपूर्वक सरुवा गरेर वडाध्यक्षहरूलाई दबाब दिन खोजेको एमालेले आरोप लगाएको छ । प्रशासन प्रमुख खड्काले भने आफूले प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार काम गरेको जवाफ दिएका थिए । प्रमुख प्रशासकीय अधिकृतबाट जवाफ लिने बताएपछि चौधरीसहितको टोलीले प्रमुख प्रशासकीय अधिकृतलाई समेत सम्पर्क गर्छन् । तर, आफूले सर्भर बन्द गर्ने कुनै निर्देशन नदिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।
'यदि त्यस्तो भएको रहेछ भने म तत्काल सर्भर खोल्न लगाउँछु,' मेहताले उपप्रमुख चौधरीलाई भने । मेहताको निर्देशनपछि सरुवा भएका कर्मचारीहरूको आइडी एक्टिभ गरिएको आइटी शाखाका कर्मचारी सन्दीप बाँस्तोलाले बताएका थिए ।
मेयर भर्सेस उपमेयर र वडाध्यक्ष
विवादको सतहमा कर्मचारी र उपमेयर प्लस वडाध्यक्षको आमनेसामने भए पनि खासमा भने मेयर भर्सेस उपमेयर र वडाध्यक्षहरू आमनेसामने भएको उपमहानगरभित्र ओपन सेक्रेटजस्तै बनेको छ । खासमा प्रशासन शाखाका प्रमुख रहेका सञ्जीव खड्का मेयर हेमकर्ण पौडेलको निकटको कर्मचारी मानिन्छन् । सामान्य प्रशासन महाशाखाको व्यवस्था गरेर 'अधिकृत दशौँ' स्तरको कर्मचारीले नेतृत्व गरे पनि अधिकृत छैटौँ खड्काले नै प्रशासन शाखामार्फत डिफ्याक्टो महाशाखा प्रमुखको अभ्यास गर्दै आएका छन् ।
मेयर पौडेलको इशारामा प्रशासन शाखा प्रमुख रहेका खड्काले एमाले निर्वाचित भएका वडाहरूमा बारम्बार असहयोग गर्दै आएको आरोप एमालेले लगाउँदै आएको छ । वडाको कामहरूलाई नराम्ररी प्रभावित पार्ने गरी अनावश्यक कर्मचारी चलाएको आरोप कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडाध्यक्षहरू जितेन थापा, उमेश सुवेदीलगायतले खड्कामाथि लगाउँदै आएका छन् ।
हुनत: केही दिनअघि कार्यपालिकाको बैठकको क्रममा मेयरको निर्देशनमा माइन्युट लुकाएको आरोपसमेत खड्कामाथि एमालेका जनप्रतिनिधिहरूले लगाएका थिए । मेयर पौडेल भारत भ्रमण गएको बेला उपमेयर चौधरीले कार्यपालिका बैठक बसाएकी थिइन् । तर, कार्यपालिकाको बैठकको माइन्युट लुकाएर बैठकमा खड्का उपस्थित नभएको एमालेले आरोप लगाउँदै आएको छ ।
कार्यपालिका बैठकमा नआएपछि प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र खड्कालाई कारबाही गर्न कार्यपालिका बैठकले सिफारिस गरेको थियो । त्यसभन्दा अघिल्लोपटक मेयर पौडेलले बोलाएको कार्यपालिका बैठकको माइन्युट नदिएकोमा पनि कार्यपालिका सदस्यहरू आक्रोशित थिए ।


