इटहरी । कोशी विचार उत्सव फागुन १५ गतेदेखि विराटनगरमा हुने भएको छ । एक पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो । आयोजक संस्था बिना फाउन्डेसनका अध्यक्ष वरुण झाका अनुसार विराटनगरको महेन्द्र चोकमा फागुन १५, १६ र १७ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । यसअघि पोखरा, बुटवल, जनकपुर र राजबिराजमा विचार उत्सव आयोजना भइसकेको झाले बताए । उत्सवमा शिक्षा, स्वास्थ्य, सुशासन, व्यवसाय व्यवस्थापनलगायत नीति, संस्कृतिजस्ता विषयमा उक्त कार्यक्रम केन्द्रीत हुने उनले बताए । कार्यक्रम संयोजक जेनिशा सुमनका अनुसार उक्त संवादको यात्रालाई अर्थपूर्ण बनाउन आग्रह गरिन् । उनका अनुसार हरेक ठूला परिवर्तन एउटा सानो विचारबाट सुरू हुन्छ, त्यसैले युवाहरूले ठूला परिवर्तन ल्याउनसक्ने क्षमता राख्ने भएकाले विचार उत्सव आयोजना गर्न लागिएको संयोजक जेनिशा बताउँछिन् । युवाहरूका विचारले उनीहरूको व्यक्तिगत र सामूहिक भविष्यको दिशा निर्धारण गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्न उक्त कार्यक्रमको प्रमुख उदेश्य रहेको बताइएको छ । स्थानीय, प्रादेशिक र राष्ट्रिय महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्नका निम्ति उत्सवको आयोजना गरिएको बताइएको छ ।


