इटहरी । हिसान इटहरी ८ किलोमिटर रनमा बिदेशी खेलाडी च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्ला तर्फ ८ किलोमिटर रनमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका हुन । निर्धारित दुरी मौरीकीले २४ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए । दोस्रो भएका सरोज लिम्बुले २५ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गर्दा ओशन राईले २६ मिनेट ५ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए । महिला तर्फ इन्द्रकला नेम्वाङ प्रथम हुदा जुही राई दोस्रो तथा सकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दुरी ३१ मिनेट ३ सेकेण्ड, जुहीले ३२ मिनेट ३५ सेकेण्ड र सकुन्तलाले ३३ मिनेट ३१ सेकेण्डमा पुरा गरेका थिए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १२ हजार, १० हजार र ८ हजार रुपैया नगद पुरस्कार पाए ।  सेकेण्डरी समुह अन्तर्गत ५ किलोमिटर दुरीमा कालुमान राई प्रथम, अमर यादव दोस्रो हुदा तेस्रो स्थानमा प्रोटेस्ट परेकाले छानबिन भैरहेको जनाइएको छ । महिला तर्फको प्रथम स्थानमा पनि प्रोटेस्ट परेकाले घोषणा हुन नसकेको कार्यक्रम संयोजक सुवास लुईटेलले जानकारी दिनुभयो । उक्त समुहमा बिनिता राई दोस्रो र तिर्सना राई तेस्रो भइन । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाए । प्राइमरी समुहको ३ किलोमिटर तर्फ प्रथम स्थानका लागि प्रोटेस्ट परेको छ । सो समुहमा रोमन माझी दोस्रो र मनिष लिम्बु तेस्रो भए । महिला तर्फ रेस्मा दर्जी प्रथम, राधा माझी दोस्रो र करिना राई तेस्रो भए । उनीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार पाए । प्रतियोगितामा केही बिदेशी सहित नेपालका बिभिन्न जिल्लाका ८ सय बढी धावक धाविकाले प्रतिष्पर्धा गरेका थिए ।