सुनसरी | पुस्तकालयको साहित्यिक जागरण अभियानको ६३औँ श्रृङ्खलामा युवा साहित्यकार मणि निरौलाद्वारा लिखित उपन्यास "गुप्त प्रेम" को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष भैरबप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्ण अधिकारी रहेका थिए। कार्यक्रमको उद्घोषण कवि कालिदासले गरेका थिए।
परिचर्चा कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण विनोद लम्साल, कार्यक्रम संयोजक टीका मिलन, प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरी अध्यक्ष विमला पोख्रेल, कलाकार कृष्णप्रसाद नेपाललगायत थुप्रै साहित्यकार तथा स्रोता सहभागी भएका थिए।
कार्यक्रमका क्रममा उपन्यासका विशेषताबारे साहित्यकार तथा कवियत्री टीका आत्रेयले आफ्नो धारणा राख्दै "गुप्त प्रेम" टिन एज र बाल्यकालको कथामा आधारित भएकाले युवा पुस्तालाई विशेष रूपमा छुने खालको छ भन्ने बताइन्। अर्का बक्ता रामप्रसाद खरेलले उपन्यासको सस्पेन्स थ्रिलर शैली आफूलाई निकै मन परेको बताए। उनले लेखक मणि निरौलाले अघिल्ला कृतिहरूभन्दा फरक धारको पुस्तक ल्याएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा कलाकार कृष्णप्रसाद नेपालले आफ्ना कलात्मक प्रस्तुतिहरू मार्फत माहोललाई रमाइलो बनाएका थिए। यसै क्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण विनोद लम्सालले नेपाली साहित्यमा युवा पुस्ताको चासो र सहभागिता बढ्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गरे।
अन्त्यमा, लेखक मणि निरौलाले पुस्तक प्रकाशनको क्रममा आफूले भोगेका विभिन्न चुनौतीहरूको चर्चा गर्दै पाठकहरूले कृतिलाई मन पराइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गरे।


