इटहरी । हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेज माथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ्चलका सिजल राई घोषिता भए । उनले सर्वोत्कृष्ट भए बापत नगद ५ हजार र उच्च गोलकर्ताको ३ हजार सहित ८ हजार पुरस्कार पाए । पूर्वाञ्चलकै सुमित राई बेस्ट गोलकिपर, सकक्षम प्रधान बेस्ट मिड फिल्डर र सजिवन राई बेस्ट प्रशिक्षक घोषित भए । सुस्मा कलेजका देबराज श्रेष्ठ बेस्ट फरवार्ड र युसन राई बेस्ट डिफेन्स घोषित भए । उनीहरुले जनही नगद २–२ हजार रुपैया पाए । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई प्रमुख अतिथी हिसान केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, सचिव सुभाष लुईटेल, एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की, महासचिव कोबिदजंग कार्की, सदस्य प्रकाश कोइराला लगायतले पुरस्कार बितरण गर्नुभयोे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी र उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १२ गतेदेखी भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च माबिहरुको सहभागीता रहेको सुनसरी जिल्ला फुटबल संघका महासचिव कोबिदजंग कार्कीले जानकारी दिनभयो । हिसान सुनसरीको स्पोर्ट मिट अन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधी बिश्वआदर्श कलेजले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा बिश्वआदर्शले स्मल हेभन कलेजलाई ५ बिकेटले पराजित गर्दै उपाधी जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको स्मल हेभनले निर्धारित १२ ओभरको खेलमा ५ विकेट गुमाउदै ८५ रन जोडेको थियो । प्रति उत्तरमा ८६ रनको बिजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको बिश्वआदर्शले १० दशमलव २ बलमा ५ विकेट गुमाउदै जीत हात पारेको हो । माघ १३ गतेदेखी भएको क्रिकेट प्रतियोगितामा सुनसरीका ११ वटा कलेजहरुको सहभागिता रहेको थियो ।


