इटहरी – इटहरी वितरक संघको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। इटहरी वितरक संघका अध्यक्ष राजेश खनालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा गरिएको थियोे ।
कार्यक्रममा इटहरी वितरक संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र बिमलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले संस्थाहरूको समस्या समाधान गर्न तथा व्यवस्थित रूपमा अघि बढ्न महासंघ लागिपरेको बताउनुभयो।
संघले व्यवसायीका विभिन्न मुद्दा समाधान गर्न तथा सामाजिक कार्यमा समेत योगदान दिँदै आएको अध्यक्ष राजेश खनालले बताउनुभयो। साथै, वितरण प्रणालीलाई प्रभावकारी बनाउन संघ प्रतिबद्ध रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले उल्लेख गर्नुभयो।
संगठनका गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान-पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। संघका संस्थापक अध्यक्ष तथा महासंघका केन्द्रीय उपाध्यक्ष टंकप्रसाद खनालको संघमा उल्लेखनीय योगदान रहेको भन्दै कार्यक्रमका वक्ताहरूले प्रशंसा व्यक्त गरे।
कार्यक्रममा नेपाल वितरक महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्णराज श्रेष्ठ, नेपालकै प्रतिष्ठीत उद्योग पति एशियन थाईफुड प्रा.लि.का प्रबन्ध निर्देशक महेश जाजु, जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेराज तिम्सिना, इटहरी वितरक संघका सल्लाहकारहरू, कोशी प्रदेशका विभिन्न वितरक संघका प्रतिनिधिहरू, व्यापारी तथा संघका सदस्यहरूको उपस्थिति रहेको थियो।
इटहरी वितरक संघले व्यवसायसँगै सामाजिक कार्यमा समेत सक्रिय भूमिका खेल्दै आएको छ। कार्यक्रमको सञ्चालन इटहरी वितरक संघका महासचिव निर्मल खतिवडाले गर्नुभएको थियो।


