इटहरी | स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा लोहोरुङ फुटबल क्लब, संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पस खेल मैदानमा भएको खेलमा लोहोरुङले चारतारे फुटबल क्लब, लेटाङ (मोरङ) लाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

खेलको ३१औं मिनेटमा सुनील खड्काले एक मात्र निर्णायक गोल गर्दै लोहोरुङलाई अग्रता दिलाए। त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका खड्काले "म्यान अफ दि म्याच" घोषित हुँदै नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरे।

अब लोहोरुङले सोमबार दमक एकेडेमी फुटबल क्लबसँग सेमिफाइनल खेल्नेछ। यसैगरी, आइतबार गाइघाट फुटबल क्लब, उदयपुर र सिंहदेवी फुटबल क्लब, धनकुटा बीच प्रतिस्पर्धा हुनेछ।

आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।यस वर्ष अघिल्लो संस्करणभन्दा पुरस्कार राशि वृद्धि गरिएको छ।

यसबाहेक, प्रत्येक खेलको "म्यान अफ दि म्याच" खेलाडीलाई ५,००० रुपैयाँ प्रदान गरिनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारसहित नगद १०,००० रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता संयोजक विकास केसीका अनुसार प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।