खोटाङ | खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर-माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेच्यानडाँडाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। प्रतियोगितामा सहभागी छ वटा माध्यमिक विद्यालयमध्ये राधाकृष्ण माविले ८ स्वर्ण, ८ रजत, र ५ काँस्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो।

साकेला गाउँपालिका-२, रतन्छामा सञ्चालित साकेला माध्यमिक विद्यालयले ८ स्वर्ण, ७ रजत, र ४ काँस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो भने बालबालिका माध्यमिक विद्यालय, मात्तिम नौलाखर्कले ५ स्वर्ण, ६ रजत, र ७ काँस्य पदकसहित तेस्रो स्थान हासिल गर्‍यो।

राधाकृष्ण माविको व्यवस्थापनमा माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सरस्वती मावि, मात्तिमबिर्ताले ३ स्वर्ण, १ रजत, र ३ काँस्य पदक जित्दै चौथो स्थान प्राप्त गर्‍यो। सिद्धेश्वरी मावि, खिदिमाले २ स्वर्ण, ५ रजत, र ४ काँस्य पदक जितेर पाँचौँ स्थान हासिल गर्‍यो भने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको चण्डेश्वरी मावि, डाँडागाउँले १ काँस्य पदक जित्दै छैठौँ स्थानमा चित्त बुझायो।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, वडा नम्बर १ का अध्यक्ष हेमन राई, र शिक्षा युवा तथा खेलकुद शाखा संयोजक कविराज राईले विजयी विद्यालयहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्र वितरण गरेका थिए। साथै, प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त विद्यालयलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।

गाउँपालिका अध्यक्ष राईले खेलकुद प्रतिभा विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने लक्ष्य रहेको बताए। उनले खेलकुद क्षेत्रले गाउँपालिकाको समग्र विकासमा महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्दै खेलाडीहरूलाई आफ्नो विद्यालयको मात्र नभई गाउँपालिकाको प्रतिष्ठा बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे।1738425363463

प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, सटफुट, ज्याभलिन थ्रो, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, १०० मिटर रिले दौड, र ४०० मिटर रिले दौड गरी २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारअन्तर्गत खेलकुद मन्त्रालयले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गरेको थियो। प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीहरूले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन्।