इटहरी | इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटाले रोमाञ्चक जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा धनकुटाले गाइघाट फुटबल क्लब उदयपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक देखिए पनि पहिलो गोल उदयपुरका अमन लामाले खेलको ६ औं मिनेटमा गरे। उनले विपक्षी रक्षापंक्तिलाई छक्याउँदै उत्कृष्ट फिनिस गरेका थिए। प्रारम्भिक गोल खाएपछि धनकुटाले दबाब बढायो र खेलमा फर्किन लगातार अवसर सिर्जना गरिरह्यो। त्यसै क्रममा खेलको ३३ औं मिनेटमा शिशिर लेखीले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफको समाप्तिको केही मिनेटअघि धनकुटाका राजु लिम्बूले ३९ औं मिनेटमा अर्को गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। खेल निकै प्रतिस्पर्धात्मक बन्दै गयो, जहाँ दुबै टिमका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। दोस्रो हाफमा गाइघाटले पुन: आक्रमण तीव्र पार्‍यो र खेलको ५९ औं मिनेटमा आकाश राईले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

तर, धनकुटाका लागि नायक बने राजु लिम्बू, जसले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई पुन: अग्रता दिलाए। खेलको अन्तिम समयसम्म पनि गाइघाटले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः सिंहदेवी फुटबल क्लब धनकुटाले ३–२ को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्‍यो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनकुटाका राजु लिम्बू म्यान अफ दि म्याच घोषित भए। उनले पुरस्कारस्वरूप नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। खेलको क्रममा दुबै टिमले थप अवसर सिर्जना गरे पनि केही महत्त्वपूर्ण क्षणहरूमा अवसर गुमाएका थिए।

प्रतियोगिता कोशी प्रदेशस्तरीय रहेको छ, जसअन्तर्गत खेलहरू इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको छ। अब सोमबार पहिलो सेमिफाइनल खेल लोहोरुङ फुटबल क्लब संखुवासभा र दमक एकेडेमी फुटबल क्लबबीच हुने छ।

प्रतियोगिताका विजेता टिमलाई नगद दुई लाख पचास हजार रुपैयाँ प्रदान गरिनेछ भने उपविजेता टिमले एक लाख तीस हजार रुपैयाँ प्राप्त गर्नेछ। आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशि बढाइएको छ। अघिल्लो वर्ष विजेता टिमलाई दुई लाख बाइस हजार रुपैयाँ दिइएको थियो भने उपविजेताले एक लाख एघार हजार रुपैयाँ प्राप्त गरेका थिए।

विभिन्न विधागत उपाधिहरू पनि प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, र सर्वाधिक गोलकर्ता खेलाडीलाई पनि समान १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि करिब २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खेल संयोजक तथा क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन खेल मैदानदेखि व्यवस्थापनसम्मका सबै पक्षमा विशेष ध्यान दिइएको छ।

फुटबलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको यो प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरिरहेको छ। अब आउने सेमिफाइनल खेलहरू झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।