इटहरी। साविक विजेता न्यूरोड टिम एनआरटी धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशलामा मङ्गलबार भएको क्वार्टरफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९केएफटीसी० झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो । एनआरटीले अब फाइनल यात्राका लागि पाहुना टोली भारतको युनाइटेड कर्साङ ९युकेएफसी०को सामना गर्नेछ । खेलको पहिलो हाफ दुबै टिमले गोलरहित बराबरी खेलेको थियो । एनआरटीका लागि ४८औँ मिनेटमा शिशिर लेखीले टिमका लागि पहिलो गोल गर्नुभएको थियो । उहाँले विदेशी खेलाडी रोबर्ट कोबिनाको पासमा गोल गरेका गर्नुभएको थियो । यस्तै, खेलको ६०औँ मिनेटमा सरोज घिसिङ र ८०औँ मिनेटमा रोहन खड्गीले गोल गर्नुहुँदै एनआरटीका लागि सहज जित निकालेको हो । झापाका लागि सात्वना गोल ६२औँ मिनेटमा रोबेर्ट खोङजोले फर्काउनुभएको थियो । खेलको म्यान अफदि म्याच एनआरटीका शिशिर लेखी घोषित हुनुभयो । उहाँले ट्रफि र नगद १० हजार रुपियाँ प्राप्त गर्नुभयो । बुधबारको पहिलो सेमिफाइन खेल भुटानको आरटिसी फुटबल क्लब र चर्च ब्याइज युनाइटेडबिच हुनेछ । माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।


