मोरङ | सुन्दरहरैंचा नगरपालिका–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको बहुपक्षीय विकास, भौतिक पूर्वाधार विस्तार तथा अभिभावक सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार, शैक्षिक नवप्रवर्तन तथा विद्यार्थीको उपलब्धिबारे जानकारी गराउनुभयो। उहाँले विद्यालयमा हाल ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले चालिरहेका कदमहरूको विवरण प्रस्तुत गर्नुभयो।
प्रधानाध्यापक काफ्लेका अनुसार, विद्यालयमा विज्ञान, वाणिज्य, मानविकी, प्रविधि तथा इन्जिनियरिङ कक्षा सञ्चालनमा रहेको छ। विद्यालयले डिजिटल शिक्षण प्रणालीलाई प्रवर्द्धन गर्दै आइरहेको छ भने प्रयोगात्मक शिक्षामा विशेष ध्यान दिइएको छ।
विद्यालयको प्रगति र सफलतामा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्न विशेष कार्यक्रम आयोजना गरिएको थियो। विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, विद्यालयलाई सहयोग गर्ने व्यक्तित्व, अक्षयकोष दाता तथा समाजसेवामा उल्लेखनीय योगदान दिने १५ जनाभन्दा बढी व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले विद्यालयलाई निरन्तर सहयोग गरिरहेका अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै विद्यालयको भविष्यका योजनाबारे जानकारी गराउनुभयो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। नेपालका विभिन्न जातजातिका मौलिक नृत्य, नाटक तथा गायन प्रस्तुति कार्यक्रममा आकर्षणको केन्द्र बने।
यसैगरी, विद्यार्थीहरूले विज्ञान तथा प्रविधि सामग्रीहरू तयार गरी प्रदर्शनीमा राखेका थिए, जसमा भौतिक विज्ञान, कम्प्युटर प्रविधि, वातावरण विज्ञान तथा आधुनिक प्रविधि सम्बन्धी विभिन्न मोडलहरू समेटिएका थिए। विद्यार्थीहरूले आ-आफ्ना सिर्जनात्मक प्रयोगहरू प्रस्तुत गर्दै नवप्रवर्तनशील सोचलाई अगाडि बढाएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यालयलाई अझ गुणस्तरीय शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले साजीलाल माध्यमिक विद्यालयलाई आधुनिक शिक्षा प्रणालीतर्फ उन्मुख गराउन नगरपालिका सदैव साथ रहने बताउनुभयो।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विद्यालयलाई आवश्यक पर्ने भौतिक साधन उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा लगानी गर्नु भनेको देशकै भविष्यमा लगानी गर्नु हो भन्दै प्रदेश सरकारले शैक्षिक सुधारका लागि विभिन्न योजनाहरू अघि सार्ने बताउनुभयो।
विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच समन्वय अझ सुदृढ गर्न आवश्यक रहेको बताउँदै नगर उपप्रमुख अकली चौधरीले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, नगर उपप्रमुख अकली चौधरी, जिल्ला समन्वय समिति मोरङका सभापति अजम्बर राई, पूर्व कोशी प्रदेशका राज्य मन्त्री राजकुमार झोझा, पूर्व सांसद लोकप्रसाद संग्रौला, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल, सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, सामाजिक व्यक्तित्व तथा स्थानीय विद्यालयका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका सहभागीहरूले विद्यालयको आगामी शैक्षिक तथा भौतिक विकास योजनाबारे छलफल गर्दै विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सबै पक्षले योगदान दिनुपर्नेमा जोड दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले निकट भविष्यमा विद्यालयलाई अझ व्यवस्थित, डिजिटल प्रविधिसहितको शिक्षालयका रूपमा विकसित गर्ने योजना रहेको बताउनुभयो। विद्यालयले विद्यार्थीहरूको व्यावहारिक तथा प्रयोगात्मक शिक्षामा विशेष ध्यान दिने, डिजिटल कक्षा कोठा निर्माण गर्ने, विज्ञान र प्रविधि शिक्षालाई प्रवर्द्धन गर्ने तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने योजनाबारे जानकारी गराइएको छ।
विद्यालय प्रशासनले गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले अनुभवी तथा दक्ष शिक्षकहरूको नियुक्ति, अतिरिक्त गतिविधिहरूको प्रवर्द्धन, अन्तरविद्यालयीय प्रतियोगिताहरूको आयोजना तथा विद्यार्थीहरूको व्यक्तिगत तथा बौद्धिक विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री हिक्मत कार्कीले विद्यालयलाई आवश्यक पर्ने भौतिक तथा शैक्षिक पूर्वाधार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
५९औं वार्षिकोत्सव तथा अभिभावक भेला विद्यालयको शैक्षिक तथा संस्थागत विकासको महत्वपूर्ण कोसेढुंगा सावित भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। कार्यक्रममा विद्यालय समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिता तथा सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यबाट साजीलाल माध्यमिक विद्यालयलाई आधुनिक शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा नगरका विभिन्न पदाधिकारी, शिक्षा क्षेत्रका विज्ञहरू, समाजसेवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

