भोजपुर | अरुण गाउँपालिकामा बेमौसमी अकबरे खुर्सानी उत्पादनलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम सुरु गरिएको छ। 

अरुण गाउँपालिका वडा नम्बर–७, जगरेमा श्रीकुमार राईले १ वर्षदेखि वाभुक कृषि तथा माछा फर्म सञ्चालन गर्दै बेमौसमी अकबरे खुर्सानी उत्पादन गरिरहेका छन्। उनले माछापालन तथा खुर्सानी खेतीलाई एकसाथ अघि बढाएर राम्रो आम्दानी गरिरहेका छन्।

यो अभियानलाई सफल बनाउन स्थानीय कृषकहरू, सरोकारवाला निकायहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहकार्य रहेको छ। यस योजनामा फर्मका सञ्चालक श्रीकुमार राई  नेपालि काङ्ग्रेस अरुण गाउँपालिका सभापति  समेत हुन् । अरूण गाउँपालिकाका युवा व्यक्तिहरू नेपाली कांग्रेस अरुण गाउँपालिका सचिव राम आचार्य, ज्ञानेन्द्र दाहाल, सह-सचिव ललित राई, अरूण गाउँपालिकाका तरुण सभापति ललित राई, तथा नेपाली कांग्रेस वडा नं. ६ का उपसभापति लक्ष्मण राईको टिमको संयुक्त लगानिमा फर्म सञ्चालन गरिरहेका छन् ।

गाउँपालिकाले पनि स्थानीय किसानहरूलाई विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ। किसानहरूलाई उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सबै सहयोग उपलब्ध गराउने लक्ष्यसहित यो अभियान अघि बढाइएको अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनु भयो ।

योजनाको मूल उद्देश्य राजनीति र आर्थिक स्वावलम्बनलाई जोड्नु हो र राजनीति व्यवसायको रूपमा होइन, समाज सेवासँग जोडेर अगाडि बढाउनु आवश्यक छ भन्ने मान्यताका साथ यो कार्यक्रम अघि बढाइएको फर्मका सञ्चालक श्रीकुमार राईले बताउनुभयो ।

राजनीतिमा संलग्न व्यक्तिहरूको आयश्रोत पारदर्शी हुनुपर्ने र गरिखानका लागि वैकल्पिक व्यवसाय अनिवार्य हुनुपर्ने अवधारणालाई व्यवहारिक रूपमा लागू गर्न यो अभियान थालिएको छ।

बेमौसमी अकबरे खुर्सानी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न किसानहरूलाई विशेष तालिम, उन्नत बीउबिजन, मलजल तथा आधुनिक प्रविधि उपलब्ध गराइनेछ। यस अभियानले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ। यदि यो कार्यक्रम सफल भएमा अरुण गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।