इटहरी | इटहरीमा भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि केराबारी फुटबल क्लब, मोरङले जितेको छ। बिहीबार इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनल खेलमा केराबारीले लोहोरुङ फुटबल क्लब, संखुवासभालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
खेलको १५औँ मिनेटमा केराबारीका लागि विदेशी खेलाडी एलेक्सले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। निर्धारित समयभरि दुवै टिमले थप गोल गर्न सकेनन्, जसका कारण एलेक्सको गोलले नै केराबारीलाई विजयी बनायो।
यसअघि सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लोहोरुङ फुटबल क्लबले दमक एकेडेमी, झापालाई सडन डेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। मंगलबार भएको दोस्रो सेमिफाइनलमा केराबारीले सिंहदेवी फुटबल क्लब, धनकुटालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।
फाइनल खेल जित्दै केराबारी फुटबल क्लबले नगद दुई लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो। उपविजेता लोहोरुङ फुटबल क्लबले एक लाख ३० हजार रुपैयाँमा चित्त बुझायो। खेलाडीहरूलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङमाङले पुरस्कार वितरण गरे।
प्रतियोगितामा व्यक्तिगत विधागत पुरस्कारहरू पनि प्रदान गरिएको थियो। खेलको म्यान अफ द म्याच केराबारीका एलेक्स घोषित भए, जसले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडीको उपाधि केराबारीका प्रवेश बस्नेतले जित्दै नगद १५ हजार हात पारे। उत्कृष्ट गोलरक्षक केराबारीकै रोशन कार्की, उत्कृष्ट डिफेन्डर केराबारीकै सुजन चौधरी, उत्कृष्ट मिडफिल्डर लोहोरुङका हेमन लिम्बू, उत्कृष्ट फरवार्ड लोहोरुङका जीवन लोहोरुङ, र सर्वाधिक गोलकर्ता केराबारीका नितेश लिम्बू घोषित हुँदै उनीहरूले प्रत्येकले १० हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै, आयोजक द योङ ब्रदर्श क्लबका सलोज जिमी उत्कृष्ट उदयीमान खेलाडी घोषित भए र उनले पाँच हजार रुपैयाँ प्राप्त गरे। खेल संयोजक एवम् आयोजक द योङ ब्रदर्श क्लबका संरक्षक विकास केसीका अनुसार माघ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी थिए। गत वर्षदेखि सुरु भएको यो प्रतियोगिता आगामी वर्ष पनि निरन्तर सञ्चालन गरिने क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।


