भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ नागीदेखि खावा, कोट गोगने हुँदै लेखर्कसम्म जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ। २ करोड ६१ लाख ७१ हजार ६ सय ३१ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त सडकको कालोपत्रे कार्य मार्सेली—सीप्तुङ लाईट जे.भी. निर्माण कम्पनीले लिने भएको छ।
कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्यसहित टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बिहीबार उक्त सडकको सिलान्यास गरेका छन्। सो सडक कोशी प्रदेशको इटहरीस्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयबाट विनियोजित बजेटबाट निर्माण हुँदैछ।
यो योजनाअन्तर्गत डेड किलो मिटर सडकमा ग्याभिन जाली, आरसीसी ढलान, ड्रेन वाल, र कालोपत्रे गर्ने काम गरिनेछ। निर्माण कार्य यस आर्थिक वर्षको अन्त्यसम्म (असार मसान्त) पूरा गर्ने लक्ष्य राखिएको छ। निर्माण कम्पनीका ठेकेदार श्याम श्रेठले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
सडक कालोपत्रे भएपछि नागी, खावा, कोट गोगने, र लेखर्कका कृषकहरूलाई आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज हुने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष हर्कराज राईले जानकारी दए । यसले कृषि उपजको ढुवानी खर्च घटाउनुका साथै स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यस विकासले गाउँपालिकाको यातायात, व्यापार, तथा स्थानीय पूर्वाधार विकासमा टेवा पुर्याउनेछ। साथै, ग्रामीण क्षेत्रमा यातायात सेवा सहज हुँदै स्थानीय बासिन्दाको दैनिकी जीवनमा सकारात्मक प्रभाव पार्नेछ । स्थानीय सरकार, निर्माण कम्पनी, र स्थानीय समुदायको सहकार्यमा यो परियोजना समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।


