संखुवासभा | संखुवासभाको  मादी नगरपालिका–३, मुलखर्कमा जारी ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल सिर्जना युवा क्लब धरान र लिखु भुजी क्लब रामेछापबीच हुने भएको छ ।

शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा सिर्जना युवा क्लब धरानले चुलाचुली स्पोर्टिङ क्लब झापालाई हराउँदै फाइनलमा स्थान बनायो । दोस्रो हाफको २२ औं मिनेटमा धरानका खेलाडीले गोल गरेपछि विवाद उत्पन्न भयो, जसका कारण केही समय खेल रोकियो । अन्ततः चुलाचुली स्पोर्टिङ क्लबले खेल मैदान छोडेपछि रेफ्रीको निर्णयअनुसार धरान फाइनल प्रवेश गरेको हो ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा लिखु भुजी क्लब रामेछापले डाँडाबजार धनकुटालाई ४-० गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । खेलको ४ औं मिनेटमै रामेछापका जर्सी नम्बर १८ मनविच गुरुङले पहिलो गोल गरे । उनले १७ औं मिनेटमा पुनः अर्को गोल थपे । खेलको ५७ औं मिनेटमा जर्सी नम्बर ११ प्रकाश जिमीले गोल गरे भने अतिरिक्त समयमा जर्सी नम्बर ८ प्रविन सुनुवारले अर्को गोल थपे। निर्धारित समय सम्म धनकुटा गोल गर्न असफल भएपछि रामेछाप फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनलका म्यान अफ द म्याच लिखु भुजी क्लब रामेछापका जर्सी नम्बर १८ मनविच गुरुङ घोषित भए ।

प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ः ३० बजे हुनेछ । विजेताले २ लाख २० हजार २ सय तथा उपविजेताले १ लाख १० हजार १ सय पुरस्कार प्राप्त गर्नेछन । हाङथुम क्लबका अध्यक्ष असिम जिमीका अनुसार प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी थिए ।

IMG_20250207_175027