संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा जारी ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता २०८१ को उपाधि लिखु भुजी क्लब रामेछापले चुमेको छ ।
शनिवार मुलखर्क रंगशालामा भएको फाइनल खेलमा रामेछापले सृजना यूवा क्लब धरानलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलको ७४ मिनेटमा रामेछापका लागि खेलाडी करण मगरले पेनाल्टी मार्फ गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक बन्यो ।
यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेल सृजना यूवा क्लब धरान र चुलाचुली स्पोटिङ क्लब झापा विच भएको थियो । खेल विवादमा आएको हुँदा केही समय खेल रोकिएको थियो । अन्ततः चुलाचुली स्पोर्टिङ क्लबले खेल मैदान छोडेपछि रेफ्रीको निर्णयअनुसार धरान फाइनल प्रवेश गरेको थियो ।
अन्तिम सेमिफाइनल खेलमा डाँडा बजार धनकुटा र लिखु भुजी क्लब रामेछाप विच भएको थियो । ४ गोलको अग्रता संगै रामेछाप फाइनल पुगेको थियो ।
यससँगै खेलको विजेता टिम लिखु भुजी क्लब रामेछापले २ लाख २० हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको सृजना यूवा क्लब धरानले १ लाख १० हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
मादी नगरपालिका–३ निवासी तथा संखुवासभा जिल्ला फुटबल टिमका कप्तान बसन्त ओझालाई, क्लबको सहयोग र फुटबल खेल क्षेत्रमा अगाडि बढ्ने प्रेरणा सहित, सम्मान गरिएको छ।

विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मादी नगर उपप्रमुख सुनिता देवी दाहाल भट्टराई पुरस्कार वितरण गर्नु भयो ।

खेलको म्यान अफ दि म्याच रामेछाप खेलाडी अनिल तामाङ घोषित भए । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट गोलरक्षक रामेछापका मिलन श्रेष्ठ घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । झापाका खेलाडी तिर्थ बस्नेत र रामेछापका मनबिच गुरुङले समान गोल गरेका थिए भने दुबैलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी धरानका नगेन राई घोषित हुँदै १५ हजार नगद प्राप्त गरे । हाङथुम क्लवले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०३५ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा ८ टिम सहभागी रहेका थिए ।


