इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । अनुशासन र एकता, समृद्धिको आधार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय  नेपाल स्काउटको चौथो प्रादेशिक ज्याम्बोरेट २०८१ को उद्घाटन गर्दै उहाँले भौतिक विकास भन्दा मानविय विकास दिगो हुने भएकाले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताउनुभएको हो । उहाँले राष्ट्र प्रति आस्थावान नेपाली नागरिक बनाउन नेपाल स्काउटले गरिरहेको प्रयास सह्रानिय भएको बताउदै कोशी प्रदेशका सबै पालिकामा स्काउटका गतिविधि संचालन गर्न आग्रह गर्नुभयो । कोशी प्रदेश स्काउट कार्यालय विराटनगरले माघ २५ गते देखि माघ २८ गते सम्म आयोजना गर्नेे सो ४ दिने ज्याम्बोरेटमा कोशी प्रदेशका करिब ६७ वटा पालिकाका ११ वर्ष देखि १६ वर्ष सम्मका करिब २ हजार ५ सय स्काउटहरु सहभागि भएका छन् । उनीहरुलाई स्काउटको उद्देश्य, गरिमा र पहिचान बारे जानकारी दिनुका साथै शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक, र आध्यात्मिक विकासका लागि विभिन्न क्रियाकलाप गराइने बताइएको छ ।