भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सम्पन्न छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि साविक विजेता अन्नपूर्ण बाररा माध्यमिक विद्यालयले जितेको छ। विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ३ रजत, र ४ कास्य पदक प्राप्त गर्दै पुनः उपाधि रक्षा गर्न सफल भएको हो।
यस प्रतियोगितामा सिहदेवी माध्यमिक विद्यालय, लेखर्कले ५ स्वर्ण, ४ रजत, ४ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो। यसैगरी, विद्देश्वर माध्यमिक विद्यालय, गोगनेले ४ स्वर्ण, ७ रजत, २ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो।
प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट क्षमताको प्रदर्शन गरेका थिए। विद्यालयस्तरमा खेलाडीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई खेलकुदतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
माघ २५, २६, र २७ गतेसम्म चलेको प्रतियोगिताको आयोजना चन्डेश्वरी माध्यमिक विद्यालय, नागीले गरेको थियो। गाउँपालिकाका विभिन्न विद्यालयहरूबीच भएको यस खेलकुद प्रतियोगितामा छात्र तथा छात्राहरूले विभिन्न इवेन्टहरूमा प्रतिस्पर्धा गरेका थिए। दौड, उच्च कुद, लङ जम्प, डिस्कस थ्रो, ज्याभलिन थ्रो, कबड्डी, भलिबलजस्ता खेलहरू समावेश गरिएका थिए।
प्रतियोगिताको समापन समारोहलाई झन् भव्य बनाउने उद्देश्यले पुरस्कार वितरण कार्यक्रम पनि गरिएको थियो। समापन तथा पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, जिल्ला खेलकुद विकास समिति अध्यक्ष दावा शेर्पा, सचिव गेल्जेन शेर्पा, विद्यालयका शिक्षक, अभिभावक, खेलाडी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो। प्रमुख अतिथि सरोज बस्नेतले प्रतियोगिताका विजयी खेलाडीहरूलाई बधाई दिँदै खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यालयस्तरमै खेलाडीहरूको सीपलाई निखार्दै उनीहरूलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउने मार्ग प्रशस्त गर्छ। यस अवसरमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष दावा शेर्पाले विद्यार्थीहरूको खेलप्रति बढ्दो चासोप्रति खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्ने बताए।
समारोहमा विजेता विद्यालय तथा खेलाडीहरूलाई पदक, ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरियो। सहभागी सम्पूर्ण विद्यालयहरूलाई धन्यवाद दिँदै आयोजक विद्यालयले भविष्यमा अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्यो।
प्रतियोगितामा खेलाडीहरूले देखाएको जोश, जाँगर र प्रतिस्पर्धी भावनाले टेम्केमैयुङ गाउँपालिकामा खेलकुदको स्तर निरन्तर उकालो लागिरहेको संकेत दिएको छ। 



