इटहरी | अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले आफ्नो ३४ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको छ । 

‘भ्रष्टाचार नियन्त्रणमा नागरिकको साझेदारी, सुशासन प्रवद्र्धनमा सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ ३४ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको हो । कार्यक्रमको उद्घाटन कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गर्नुभएको थियो । भ्रष्टाचार नियन्त्रण गर्न संघिय सरकार ,प्रदेश सरकार ,स्थानीय सरकारको महत्त्वपूर्ण भुमिका हुने  अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेले बताउनुभयो ।

आयोगले भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक रहेको  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङे बताउनुभयो । उहाँका अनुसार नीतिगत सुधार, प्रभावकारी कार्यान्वयन र नागरिक सचेतनाको अभावमा भ्रष्टाचार उन्मूलन सम्भव छैन ।

कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले भ्रष्टाचार सम्बन्धी मुद्दाहरूको न्यायिक निरूपणमा पारदर्शिता आवश्यक रहेको बताउँदै राज्यका सबै निकायहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरूले भ्रष्टाचार निवारणका लागि आयोगको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने माग राखेका छन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्रालयका  मन्त्री रामबहादुर मगर ,जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल लगायतका वक्ताहरूले भ्रष्टाचार निवारणमा स्थानीय तहको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । हाल कोशी प्रदेशका १३७ स्थानीय तहहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यक्षेत्रभित्र पर्दछन् । आयोगले प्रदेशभरि भ्रष्टाचार नियन्त्रणका लागि निगरानी राख्दै आएको छ ।

आयोगका अनुसार स्थानीय तहमा देखिएका अनियमितता, सार्वजनिक सम्पत्तिको दुरुपयोग, आर्थिक अपचलन लगायतका मुद्दामा छानबिन तीव्र बनाइएको छ । लोक सेवा आयोग कोशी प्रदेशका अध्यक्ष महेन्द्र प्रसाद गुराँगाई ,जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला दाहाल ,सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, प्रहरी प्रशासन ,विभिन्न सरकारी अधिकारी, जनप्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।