हतुवागढी – भोजपुरको हतुवागढी गाउँपालिका–५ नं. वडाको बजेटबाट सञ्चालित विभिन्न विकास योजनाहरू सम्पन्न भएसँगै अनुगमन कार्य सम्पन्न भएको छ। पालिका अनुगमन समितिका संयोजक एवं उपाध्यक्ष सुनिता राई, योजना प्रमुख (अधिकृत आठौँ) कर्ण लिम्बू, इञ्जिनियर दिब्य राज अधिकारी, अनुगमन समिति सदस्य सजना परियार, वडा प्रतिनिधि निरज यादव लगायतको टोलीले योजनाहरूको अनुगमन गरी रकम निकासा प्रक्रियालाई सहज बनाएको छ।
बुद्ध मूर्ति निर्माण तथा संरक्षण ,वडा कार्यालय स्टोर निर्माण, अरुणोदय प्राथमिक विद्यालयको शौचालय मर्मत, सुनखरी सडक सोलिङ, टोङमाखावा भलिबल ग्राउन्डको पर्खाल निर्माण, फूलबारी भवन मर्मत, साकेन्वा सार्वजनिक शौचालय निर्माण, ओखरबोटे खानेपानी रिजर्भ ट्यांकी निर्माण लगाएत वडाका निम्न योजनाहरू पूर्ण रूपमा सम्पन्न भइसकेका छन् ।
अनुगमन समितिका पदाधिकारीहरूले सम्पन्न भएका योजनाहरूको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा कार्यहरू निर्धारित मापदण्डअनुसार नै सम्पन्न भएको निष्कर्ष निकालिएको छ।
अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष सुनिता राईले वडाका विकास निर्माण कार्यहरूलाई प्रभावकारी रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्दै, बाँकी योजनाहरू पनि चाँडै सम्पन्न गर्ने योजना रहेको बताइन्। वडावासीले सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ आगामी दिनमा थप योजनाहरूलाई प्राथमिकता दिइने बताइएको छ।


