इटहरी । भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिका भित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीकोे अध्यक्षता तथा  कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए । ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरेका हुन् । भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रतिस्पर्धामा अपेक्षित नतिजा निकाल्न नसक्दा रनिङ शिल्ड शारदा मावि, प्याउलीले जित्न सफल भएको हो । प्रतियोगितामा कुल २५ वटा स्वर्ण पदक वितरण गरिएको थियो । जसमा शारदा मावि, प्याउलीः ७ स्वर्ण, ५ रजत, २ कांस्य (कुल १४ पदक),कटका माविः ५ स्वर्ण, ६ रजत, ११ कांस्य (कुल २२ पदक),महेन्द्रोदय माविः ५ स्वर्ण, ५ रजत, १ कांस्य (कुल ११ पदक) र अरुणोदय मावि, चरम्बीः ४ स्वर्ण, ४ रजत, १ कांस्य (कुल ९ पदक) रहेको थियोे । पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले खेलकुद लाइ मनोरन्जनको रुपमा नलिइ व्यवसायिकता तर्फ र आयआर्जन तर्फ पनि अधि वढाउनु पर्ने र त्यसका लागी गाउँपालिकाको पूर्ण समर्थन र सहयोग रहने साथै खेलाडीको मनोवल वृद्धि  होस भनि विजेता खेलाडीहरूलाई  १ लाख नगदै दिने घोषणा गर्नुभयो ।  कार्यक्रमका प्रमुख अतिथि पुर्व मुख्यमन्त्री राइले आफु मुख्यमन्त्री भएको बखत खेलकुदको पूर्वाधार विकाश र खेलाडी उत्पादनका लागी प्रसस्त वजेटको विनियोजन गरेको र हाल पनि खेल क्षेत्रको विकासका आफुले सकेको सहयोग गर्ने र गरिरहने वताउनु भयो । समारोहमा अरूण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकाल, विभिन्न वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक र खेलप्रेमीहरूको उपस्थितिमा प्रतियोगिता समापन भएको थियो ।