धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह बी बाट समुह विजेता हुँदै उदयपुरको गाईघाट फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
बुधबार धरान रंगशालामा भएको खेलमा सम्राट स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाट समुह विजेता बनेको हो । गाईघाटकालागी एकमात्र गोल प्रविन राईले गरेका थिए । खेलको म्यान अफ द म्याच गाईघाटका गोल किपर अनिल मगर घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
गाईघाटले पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई पराजित गरेको थियो । गाईघाट ६ अंक सहित समुह विजेता हुँदा ३ अंक मात्रै भएको सम्राट भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार नै समुह डि अन्तर्गत भएको खेलमा प्रगतिशिल युथ क्लब ताप्लेजुङलाई १–० ले पराजित गर्दै बुइपा–११ खोटाङ समुहको शिर्ष स्थानमा उक्लिएको छ । बुइपा–११ कालागी जीवन परियारले निर्णायक गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रगतिशिलको धेरै प्रयास विफल बनाएका बुइपाका गोल किपर नविन पोखरेल म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
यस अघि समुह डि अन्तर्गत ताप्लेजुङको प्रगतिशिल युथ क्लब र सुनसरीको धरान फुटबल क्लबबीच भएको खेलमा दुवै टिमले खेल नियम विपरित खेलाडीलाई समावेश गरेको भन्दै उजुरी परेपछि दुवै टिमको अंक खोसिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए । दुवै टिमको अंक खोसिएपछि बुइपा–११ समुहको शिर्ष स्थानमा छ भने दुवै खेलमा अंक बटुल्न नसकेको प्रगतिशिल भने प्रतियोगिताबाट बाहिरिएको छ । अब बुइपा–११ ले धरान फुटबल क्लबसँग खेल्नेछ । बुइपा–११ ले धरान फुटबल क्लबसँग बराबरी खेले मात्रै पनि समुहविजेता बन्नेछ तर धरानले बुइपालाई कम्तिमा २ गोलको अन्तरमा पराजित गर्दा मात्रै समुह विजेता बन्नेछ ।
बिहीबार समुह सि अन्तर्गत धनकुटाको देउराली युथ क्लब र इलामको रेडहर्ष क्लब खेल्नेछन् । त्यस्तै गरी समहु ए अन्तर्गत संखुवासभाको लोहरुङ फुटबल क्लब र पाचथरको पाचथर युनाइटेड फुटबल क्लब खेल्नेछन् । समुह ए मा दुई टिम मात्रै रहेकोले यो खेल नै समुह विजेताको टुंगो लाग्नेछ ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुलाई ४ समुहमा बिभाजन गरिएको छ । समुह बिजेताहरुले लिगको उपाधीकालागी पुनः खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।


