इटहरी । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ । सरकार स्थापनामा आयोजना गरिएको समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरू समेटिएको हाते पुस्तक विमोचन गरिएको छ । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्तरूपमा ‘कोशी प्रदेश सरकारको सात वर्ष’ नामक पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख पर्शुराम खापुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट जनताको विकासको आकाङ्क्षा पूरा गर्न यो व्यवस्था सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारबाट उल्लेखनीय प्रगति भइरहेको विश्वास व्यक्त गर्दै जनताको विकासको आकाङ्क्षा पूरा गर्न, जनताको हित, सामाजिक न्याय, नागरिक स्वतन्त्रता र सेवा प्रवाहको क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री हिकम्तकुमार कार्कीले सात वर्षसम्म प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेकोमा अब मानवीय र सामाजिक क्षेत्रको विकासलाई पनि सँगसँगै अगाडि बढाउने बताउनुभयो । उहाँले स्थानीय तहसँगको सहकार्यलाई बढाउने, उनीहरूलाई दिनुपर्ने अधिकार र सहयोगहरू दिने र आपसी समन्वयलाई बढाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सरकारले गरेका कामहरूको सकारात्मक र आलोचनात्मक टिप्पणी सरकारका लागि महत्त्वपूर्ण रहेको भन्दै सरकारबाट भएका कमजोरी औंल्याइदिन उहाँले विशेष आग्रह गर्नुभयो । प्रदेश सरकारले राजस्व सङ्कलन गर्न र त्यसको दायरा विस्तार गरी प्रदेशको आय बढाउन आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने तयारी गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँले आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने प्रहल नयाँ भएको र कोशी प्रदेशले त्यसका माध्यमबाट चालु वर्षमै लक्षित आय प्राप्त गर्ने दाबी गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश योजना आयोगलाई अर्थमन्त्रालयभित्र सङ्कुचनमा राखिएको भन्दै अब त्यसलाई पूर्णरूपमा काम गर्नसकिने गरी अगाडि बढाउने पनि बताउनुभयो । प्रदेश योजना आयोगले योजना बैँकको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको र धेरै कामहरू भइरहेका भन्दै त्यसलाई स्वतन्त्ररूपमा अझ प्रभावकारी बनाउने सरकारको योजना रहेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको कामलाई मुख्य प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशनसमेत दिनुभयो । प्रदेशका केही भागमा प्रदेश नामकरणको विषयलाई लिएर भइरहेका असन्तुष्टिलाई सरकारले सम्बोधन गर्ने र सहमतिका आधारमा यस क्षेत्रको पहिचान र विकासलाई प्राथमिकतामा राखेर लैजाने आश्वासन पनि दिनुभयो । उहाँले सात प्रदेशमध्ये पहिचानको पक्षमा सबैभन्दा धेरै काम कोशी प्रदेशमै भएको दाबी पनि गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले कोशी प्रदेशमा पूर्वाधार विकासको काममा ध्यान दिए पनि यथोचित रूपमा सामाजिक र मानवीय क्षेत्रमा काम नभइरहेको बताउनुभयो । उहाँले बजेटको ५० प्रतिशतभन्दा बढी अशं पूर्वाधार विकासमा लगानी भइरहेकाले अब अन्य क्षेत्रलाई पनि सँगसँगै बढाउने र प्रदेशको आय बढाउन सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।


