रामधुनी | सुनसरीको रामधुनी नगरपालिकामा तेस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगिताको समापन समारोह रामधुनी नगरपालिका वडा नम्बर ४ को मानपुरमा सम्पन्न भयो। प्रतियोगितामा धरान उपमहानगरपालिका पहिलो, बराहक्षेत्र नगरपालिका दोस्रो र आयोजक रामधुनी नगरपालिका तेस्रो स्थानमा रहे।

प्रतियोगिता नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो भने रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै अध्यक्ष हरि बहादुर राउतले कराते जस्तो खेलले अनुशासन, आत्मरक्षा, र शारीरिक तथा मानसिक तन्दुरुस्तीमा ठूलो योगदान दिने बताए। उनले भने, "हाम्रो उद्देश्य खेलाडीहरूलाई अवसर प्रदान गर्नु, उनीहरूको प्रतिभा उजागर गर्नु, र कराते खेललाई थप उचाइमा पुर्‍याउनु हो। कराते मात्र एक खेल नभएर आत्मरक्षाको माध्यम पनि हो। स्थानीय तहमा यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै लैजानु आवश्यक छ।"

त्यस्तै, प्रमुख अतिथि उपप्रमुख तारा थापाले करातेजस्तो खेलकुदले युवाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूलाई सकारात्मक दिशामा डोर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले भनिन्, "रामधुनी नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकता दिँदै आएको छ। खेलाडीहरूलाई प्रोत्साहन गर्न हामी आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गर्नेछौँ। हाम्रो नगरपालिकाका खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगून् भन्ने हाम्रो चाहना हो।"

यस प्रतियोगितामा विभिन्न नगरपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताबाट प्रथम टिम बन्दै धरान उपमहानगरपालिकाले गोल्डमेडल ,शिल्वर मेडल ,ब्राउज मेडल हात पारेको छ भने दोस्रो टिम बन्दै बराहक्षेत्र नगरपालिकाले गोल्डमेडल ,शिल्वर मेडल ,ब्राउज मेडल हात पारेको हो । त्यसै गरि तेस्रो स्थान हासिल गर्दै रामधुनी नगरपालिकाको टिमले गोल्डमेडल ,शिल्वर मेडल ,ब्राउज मेडल हात पारेको हो ।IMG_20250215_205757

कार्यक्रममा नेपाल कराते संघ कोशी प्रदेश अध्यक्ष कुबेरमान राई, रामधुनी नगरपालिकाका शिक्षा शाखा प्रमुख राजनकुमार गेलाला, रामधुनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमल कार्की, सुनसरी जिल्ला कराते महासंघ अध्यक्ष तथा एसियन कराते रेफ्री भिखन धामी, कराते संघ सुनसरीका पदाधिकारीहरू, विभिन्न सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, नगर कार्यपालिका सदस्यहरू, स्थानीय खेलाडीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, नगरपालिकाका विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, र प्रहरी प्रशासनको समेत उपस्थिति थियो।

प्रतियोगिताको मुख्य प्रायोजक रामधुनी नगरपालिका रहेको थियो। कार्यक्रमको सफल सञ्चालन स्थानीय युवा नवराज खड्काले गरेका थिए।

यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै कराते खेललाई प्रवर्द्धन गर्न मद्दत गरेको छ। आगामी वर्षहरूमा अझ व्यापक सहभागिता र स्तरीय प्रतिस्पर्धाका साथ यो प्रतियोगिता निरन्तर आयोजना गरिने अपेक्षा गरिएको छ।