इटहरी । इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उद्घाटन गर्नुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी ९खेलाडी० ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एकसय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो । प्रतियोगिताका लागि १३ लाख रुपियाँ माई नगरपालिकाले सहयोग गर्ने र यस पटक समितिलाई भने केन्द्र तथा प्रदेशबाट यो प्रतियोगिताका लागि अलिकति पनि रकम नछुुट्टिएको पनि अध्यक्ष बाँस्तोलाले बताउनुुभयो । माईसहित अन्य पालिकाले गरेको सहयोगबाटै प्रतियोगितामा सहभागी हुने खेलाडि विद्यार्थी र प्रशिक्षकको खाना र बास खर्चको व्यवस्था मिलाइएको बताइएको छ ।प्रतियोगिता फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।


