इटहरी \ फिल्म 'राजागंज' आगामी चैत १ गते देखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ। यसअघि 'पूजा सर' नामले भेनिस, बुसान, र ताल्लिन ब्ल्याक नाइट्सजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलेको यो फिल्म नेपालमा फरक नामले सार्वजनिक हुन लागेको हो।

इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सह-लेखिका आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे, र कोशी प्रदेश संयोजक विकास बुढाथोकी उपस्थित थिए।

पत्रकार सम्मेलनमा अभिनेत्री मगरातीले फिल्मको मुख्य पात्र 'पूजा सर' भएकाले अन्तर्राष्ट्रिय महोत्सवहरूमा यही नामबाट प्रदर्शन गरिएको बताइन्। नेपालमा भने, कथामा कल्पना गरिएको गाउँको नाम 'राजागंज' भएकाले यही शीर्षक राखिएको उनले प्रस्ट पारिन्।

निर्देशक दीपक रौनियार तथा निर्माण टिमले यो फिल्मलाई विश्वभर पुर्‍याउने लक्ष्य राखेका छन्। अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा भाग लिनुले फिल्मको प्रचारप्रसार र नेपाली कथावस्तुलाई विश्वसामु चिनाउन मद्दत गर्ने उनको भनाइ छ।

बजार संयोजक सन्देश घिमिरेका अनुसार फिल्मले नेपाली समाजकै यथार्थ चित्रण गर्छ। महिला पात्रहरूको सशक्त भूमिकाका कारण नै अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा 'पूजा सर' नामबाट प्रदर्शन गरिएको उनको धारणा छ।

रौनियारले यसअघि 'हाइवे' (२०१२), 'व्हाइट सन' (२०१६), 'फोर नाइट्स' (२०२२) निर्देशन गरिसकेका छन्। 'व्हाइट सन' भेनिस, टोरन्टो, लोकानो, रोटरड्याम, बुसान र सिड्नी जस्ता महोत्सवहरूमा प्रदर्शन भएको थियो। 'फोर नाइट्स' बर्लिन फिल्म फेस्टिभल को मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो।

फिल्म 'राजागंज' अप्रिलमा हार्वर्ड युनिभर्सिटी मा विशेष प्रदर्शनका लागि छनोट भएको छ। 'द न्यूयोर्क टाइम्स' ले निर्देशक रौनियारलाई 'हेर्नैपर्ने ९ जना निर्देशक' को सूचीमा राखेको थियो।

भारतीय चर्चित फिल्ममेकर अनुराग कश्यप (निर्देशक: 'ग्याङ्स अफ वासेपुर') ले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन्। 'व्हाइट सन' हेरेपछि निर्देशक रौनियारको प्रशंसक बनेको बताउँदै, 'राजागंज' मा काम गर्न पाउँदा गर्व लागेको उनले 'भेराइटी' म्यागजिनलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन्।

फिल्ममा प्रमुख पात्र इन्स्पेक्टर पूजा थापा को भूमिकामा आशा मगराती देखिएकी छन्। साथै, पूर्व मिस नेपाल नीतिका चण्डक, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री झा, दयाहाङ राई, विजय बराल, घनश्याम लम्साल, परमेश्वर झा लगायतको अभिनय रहेको छ।

फिल्मका निर्माणकर्ताहरूमा आदि फिल्म्सका लागि दीपक रौनियार र आशा मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ, तथा तन्हाउसर गेटका लागि एलन आर. मिलिगन रहेका छन्।फिल्म फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, अस्ट्रिया, बेलायत, अमेरिका लगायतका देशहरूका सिनेमाघर, टेलिभिजन, फिल्म फेस्टिभल तथा डिजिटल प्लेटफर्महरूमा प्रदर्शनका लागि अधिकार प्राप्त गरिसकेको छ।